मधेसमा अझै पनि अलि बढी नै जस्तो दुई वटा कुसंस्कारले सामाजिक रुपमा जरो गाडेर बसेको छ । एक दाहिजो प्रथा र अर्को कथित बोक्सीको आरोप ।हुन त यो समस्या नेपालको अन्य भागमा पनि छ तर तुलानात्मक रुपमा भने मधेसमा नै बढी छ । बोक्सी वास्तवमा जसले जसरी ब्याख्या गरे पनि हुने कुरै होइन । यो एक सामाजिक कुसंस्कार अनि गरिब तथा दुःखी एवम् विपन्नहरुमाथि लगाइने एक प्रकारको आरोप र विभेद पनि हो । मधेसमा यो समस्या विगत लामो समयदेखि रहदै आएको छ । जति नै अभियान संचालन गरे पनि बुझेका भनिएकाहरुले नै सोझासाझा महिलालाई यस्तो आरोप लगाउने गर्दैआएका छन् ।
यस्ता घटनामा संलग्न जो कोही भएपनि कानुनी दायरामा ल्याउनु पर्दछ । यस्तो अपराधमा संलग्नहरुलाई अझै उन्मुक्ति दिने गरिन्छ त्यो पनि राजनीतिक संरक्षणका आधारमा छ । यो अझै गलत हो । बारा प्रहरीले बोक्सीको आरोप लगाउने एक जनालाई फरार अभियोगीलाई पक्राउ गरेको छ । पक्राउ गरेर बारा प्रहरीले राम्रो काम त गरेको छ नै अब अदालतले तोकेअनुसारको कारबाही पनि गर्न आवश्यक छ ।
यस्ता अपराधमा संलग्नहरुलाई सामान्य कारबाही गरेर हुदैन । न्यायलय पनि यो विषयमा कठोर बन्न आवश्यक छ । यस्ता घटनामा संलग्न जो कोहीलाई कानुनी दायरामा ल्याउन सकेको खण्डमा भने यस्ता कथित आरोपको भागिदार भोलिका दिनमा कोही हुन नपर्ला भनेर आशा गर्न सकिन्छ । नत्र फेरि यस्ता कथित आरोपको सामाना फेरि समाजका विपन्न व्यक्तिहरुले गर्नु नै पर्नेछ ।















