राजकुमार यादव
मौलापुर,आम जनता पार्टीले मधेसका जिल्लाका सामुदायिक विद्यालयमा विद्यार्थी संख्याको अनुपातमा शिक्षकको दरबन्दी कायम गर्न माग गर्दै आइतवारदेखि आन्दोलन सुरु गरेको छ ।पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टीले विद्यालयमा सरकारले गरिरहेको विभेद अन्त्यको माग गर्दै बारामा आन्दोलन सुरु गरेको हो ।

आन्दोलनको पहिलो दिन आइतवार बाराको कलैयामा आम जनता पार्टीका नेता–कार्यकर्ताले प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत संघ र प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको आम जनता पार्टीका केन्द्रीय सचिव एवं मधेस प्रदेश अध्यक्ष उमेश कुशवाहाले बताउनुभयो ।
दुवै तहका सरकारलाई बुझाइएको ज्ञापनपत्रमा शिक्षा ऐन विपरीत गरिएको शिक्षक दरबन्दीको असमान वितरण खारेज गर्नुपर्ने, विद्यार्थी संख्याको अनुपातमा तहगत र विषयगत शिक्षकको दरबन्दी कायम गरी पदपूर्ति गर्नुपर्ने लगायतका मागहरु उल्लेख गरिएको उहाँले जानकारी दिनुभयो ।बैशाख २५ देखि ३० गतेसम्म मधेसका सबै जिल्लामा संघर्ष समिति गठन गर्ने, बैशाख ३० गते विद्यार्थी र अभिभावकसंग अन्तरक्रिया गर्ने, जेठ १५ गते शिक्षा समन्वय ईकाई समितिको कार्यालय घेराउ गर्ने र जेठ २० गते शिक्षा विभाग घेराउ गर्ने लगायतका कार्यक्रम रहेको पनि कुशवाहाले जानकारी दिनुभयो ।आइतवार कलैयामा गरिएको प्रदर्शन र ज्ञापनपत्र बुझाउने कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष अशोक लामा, केन्द्रीय महासचिव त्रिभुवन साह, केन्द्रीय सचिव एंव मधेस प्रदेश अध्यक्ष उमेश कुशवाहा, विद्यार्थी मोर्चाका केन्द्रीय अध्यक्ष विवेक साह, आम जनसांस्कृतिक मोर्चाका केन्द्रीय अध्यक्ष विजय यादव लगायतको सहभागिता रहेको थियो ।

















