पुष्पराज खतिवडा
मनहर्वा,तराई मधेसको अधिकांश वन क्षेत्रमा डढेलो लागेको छ । डढेलोका कारण जैविक सम्पदाको नोक्सानी भइरहदा पनि वन सुरक्षाकर्मीहरु भने मूकदर्शक बनेका छन ।एक सातादेखि जंगलमा सल्केको डढेलोबाट वनका लाखौं बहुमूल्य काठ, बिरुवा जलेर नष्ट भएका छन् । डढेलोबाट उत्पन्न धुँवाका कारण वन क्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्गमा समेत यात्रामा समस्या हुने गरेको सर्वसाधारणले बताएका छन् ।
लामो समयदेखिको खडेरी पश्चात गर्मीयाम सुरु भएसँगै जंगलमा डढेलो फैलिएको हो । मधेसको राष्ट्रिय वन, सामुदायिक वन, साझेदारी वन, पर्सा वन्यजन्तु आरक्षको वन क्षेत्रसहित पूर्वपश्चिम लोकमार्ग आसपासको वन क्षेत्रमा लागेको डढेलो लागेको हो । जस्ले गर्दा धुँवाको मुस्लो जताततै देखिन थालेकोछ ।मधेसमा सबैभन्दा बढी रौतहटमा २२ हजार हेक्टर वनमा डढेलोले क्षेति गरेको छ । पर्सा राष्ट्रिय निकुञ्जको एक सय हेक्टरभन्दा बढी वन क्षेत्रमा स्थानमा डढेलो लागेको बताइएको छ ।
यस्तै पर्सामा ५० हेक्टरमा, बारामा ५०, महोत्तरीमा ३०, धनुषामा २०, सिराहमा १०, सप्तरीमा २० हेक्टर क्षेत्रको जंगलमा हालसम्म डढेलोले क्षति गरिसकेको छ ।
आठ जिल्ला रहेको यस प्रदेसको सर्लाहीमा भने डढेलोले खासै क्षति गर्न पाएको छैन । यस जिल्लाको वन क्षेत्रमा फाट्टफुट्ट आगो लागे पनि तुरुन्तै नियन्त्रणमा लिईएका कारण क्षति हुन नसकेको डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख मंजुर अहमदले बताउनुभयो ।
डढेलोले संरक्षित वन्यजन्तु, बहुमूल्य बोटविरुवा, वनस्पति, जडिबुटी, काठ–दाउरासहित जैविक तथा पर्यावरणमा क्षति गरेको छ । तर, पर्याप्त बजेट र कर्मचारीको अभावका कारण डढेलो नियन्त्रण गर्न सरकारी निकायले प्रभावकारी पहल गर्नसकेको छैन ।
डढेलो रोकथाम तथा नियन्त्रणका लागि नयाँ प्रविधि र वैज्ञानिक विधिको प्रयोगमा कुनै पक्षले जोड नदिएको हुँदा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय बासिन्दालाई जिम्मेवार बनाउन पनि कसैले पहल नगरेकाले समस्या कायमै रहेको सामुदायिक वन उपभोक्ता महासंघ बाराका अध्यक्ष रामजी बजगाईले बताउनुभयो ।
‘वन जङ्गलमा आगो लगाउँदा पालुवा राम्रो पलाउँछ र घाँस राम्रो हुन्छ भन्ने गलत सोचाइका कारण वन जङ्गलमा स्थानीयले डढेलो लगाउने गरेको पाइन्छ, उहाँले भन्नुभयो, यसको उल्टो वन जङ्गलमा लागेको डढेलोका कारण जैविक विविधतामा ठूलो क्षति हुने र पानीका मुहानसमेत सुक्दै गएका छन् ।’ उहाँले मानवीय कारणले पनि डढेलो लाग्ने र त्यस्तो कार्य गर्ने मानिसहरु कहिल्यै पनि कानुनी दायरामा नआउने उहाँको भनाई छ ।
केही दिनअघि निकै संवेदनशील मानिने पेट्रोलियम पदार्थको भण्डारण रहेको नेपाल आयल निगम अमलेखगञ्ज डिपो नजिकैको पर्सा राष्ट्रिय निकुञ्जको वनमा डढेलो लागेको थियो । पेट्रोलियम पदार्थ भण्डारण भएको नजिकैको वनमा डढेलो लागेका कारण स्थानीय निकै डराएका पनि थिए । तर वन, निकुञ्ज, प्रहरी, सेना र स्थानीयको प्रयासमा डढेलो नियन्त्रण आएको थियो ।
अमलेखगंज डिपो रहेको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ का वडा अध्यक्ष सुभाष श्रेष्ठले भन्नुभयो, ‘जंगलमा लागेको डढेलो फैलिएर बस्तीमै आइपुग्ने चिन्ताले राति पनि राम्ररी सुत्न सकिएको छैन । अझ पेट्रोलियम पदार्थ भण्डारण छेउको जंगलमा आगो लागेको रात यो चिन्ता झन बढी हुन्छ र रातभरि जागराम बस्नुपर्ने अवस्था छ ।’



















