वीरगञ्ज –  वीरगञ्ज महानगरपालिकाले रासायनिक मलको बिक्री मूल्य बढाउने निर्णयपछि महानगरपालिकाकै एक वडा अध्यक्षले विरोध जनाएका छन् । महानगरका कार्यवाहक मेयर इम्तियाज आलमको अध्यक्षतामा गत भदौ १७ गते बसेको स्थानीय तह मल वितरण व्यवस्थापन समितिको बैठकले युरिया, डीएपी र पोटास मलको मूल्य प्रतिबोरा १ सय रुपैयाँले वृद्धि गर्ने निर्णय गरेपछि महानगरपालिका– ३० का वडा अध्यक्ष मनोज यादवले आपत्ति जनाउनुभएको हो ।

किसानहरू उत्पादन लागत, सिँचाइ, बीउ, मजदुरी, विद्युत् तथा अन्य कृषि सामग्रीको बढ्दो मूल्यका कारण आर्थिक दबाबमा रहेका बेला मलजस्तो अत्यावश्यक कृषि सामग्रीको मूल्य बढाउनु उचित नभएको उहाँको भनाइ छ । किसानलाई राहत तथा प्रोत्साहन दिनुपर्ने समयमा स्थानीय तहले नै रासायनिक मलको मूल्य बढाउँदा त्यसको प्रत्यक्ष भार किसानमाथि पर्ने वडा अध्यक्ष यादवले बताउनुभयो । यस्तो अवस्थामा मलको मूल्यसमेत वृद्धि गर्दा उत्पादन लागत थप बढ्ने र त्यसको असर किसानको आम्दानीमा पर्ने भएकाले महानगरपालिकाले निर्णय पुनर्विचार गर्नुपर्ने उहाँको माग छ । वडा अध्यक्ष यादवले महानगरपालिकालाई मलको मूल्यवृद्धि सम्बन्धी निर्णय फिर्ता लिएर किसानमैत्री मूल्य कायम गर्न आग्रह गर्नुभएको छ ।

Leave a Reply