बाराको सिमरामा आज पनि प्रदर्शन भइरहेको छ ।
नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबीचको विवादले बुधबार दिनभर तनावग्रस्त सिमरामा आज दोस्रो दिन बिहीबार पनि प्रदर्शन भएको छ ।
तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय बाराले बुधबार कर्फ्यू आदेश नै जारी गरेको थियो । बेलुकीपछि भने स्थिति शान्त बनेको थियो ।
आज बिहीबार बिहान १० बजेबाट जेनजी युवाले सिमरा चोकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । आफूहरूमाथि कुटपिट गर्ने एमाले नेता–कार्यकर्ता पक्राउको माग गर्दै जेनजीले प्रदर्शन गरेका हुन् ।
को सिमरामा जेनजी युवामाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुईजना वडाध्यक्षलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जितपुर–सिमरा उपमहानगरपालिका–२ का अध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का अध्यक्ष कैमोदिन अन्सारी छन् । दुवै एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् ।
बुधबार सिमरामा भएको वादविवादको क्रममा जेनजी युवालाई कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बाराले उनीहरूलाई पक्राउ गरेको हो ।
आफूहरूमाथि कुटपिट भएको भन्दै जेनजी अगुवा सम्राट उपाध्यायले श्रेष्ठ र अन्सारीसहित ६ जनाविरुद्ध बुधबार किटानी जाहेरी दिएका थिए ।
प्रहरीले बाँकी चारजना पक्राउ नगरेको भन्दै जेनजी युवाले आज बिहान १० बजेबाट सिमरा चोकमा टायर बालेर पुन: प्रदर्शन गरिरहेका छन् । प्रदर्शनको कारण यातायात ठप्प छ ।
एमालेले बाराको परवानीपुरमा बुधबार मधेश प्रदेशस्तरीय युवा भेला आयोजना गरेको थियो । त्यसलाई सम्बोधन गर्दै काठमाडौंबाट एमाले उपाध्यक्ष शंकर पोखरेल, पोलिट्ब्युरो सदस्य महेश बस्नेतलगायतका नेता सिमरा आउँदै थिए ।
सो कार्यक्रमलाई लक्षित गर्दै जेनजी अगुवा सम्राट उपाध्यायले मंगलबार बेलुकी सामाजिक सञ्जालमार्फत् एमालेको कार्यक्रम असफल पार्ने गरी शान्तिपूर्ण विरोध प्रदर्शनको आह्वान गरेका थिए ।
सोही विषयलाई लिएर बुधबार बिहान सिमरा चोकमा एमाले नेता–कार्यकर्ताले उपाध्यायमाथि हातपात गरेका थिए। त्यस पछि आक्रोशित युवाहरू एमाले नेताहरूलाई पछ्याउँदै सिमरा विमानस्थल पुगेपछि तनावको अवस्था उत्पन्न भएको थियो ।
जेनजी युवाहरूले विमानस्थलको मुख्यगेट ढालिदिएका थिए ।