कलैया,उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने बिहीवार बाराको गढीमाई मन्दिरमा पूजापाठ गर्नु भएको छ ।
धनुषाको जनकपुरधामस्थित मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठी कार्यक्रममा सहभागी भई फिर्ता आउने क्रममा बिहीवार बिहान गढीमा उहाँले पूजापाठ गर्नु भएको मन्दिरका मूल पुजारी मङ्गल चौधरीले जानकारी दिनुभयो ।
गृहमन्त्री लामिछाने बिहीवार नै वीरगञ्जको गण्डकस्थित होटल क्लार्क रिसोर्टमा आयोजित राजस्व चुहावट सम्बन्धी कार्यक्रममा सहभागी हुनुभएको छ ।
देशकै प्रमुख प्रवेशद्वार तथा औद्योगिक एवम् आर्थिक नगरी मानिने वीरगञ्जबाट राजस्व चुहावटलाई कम गर्ने विषयमा भन्सार प्रशासक तथा सुरक्षा निकाय एवम् सम्बन्धीत सरोकारवालासँग छलफल गर्न गृहमन्त्री लामिछाने वीरगञ्ज आउनुभएको हो ।
बारा तथा पर्साका सीमा नाकाबाट व्यापक रुपमा हुने तस्करी नियन्त्रण तथा राजस्व चुहावटलाई रोक्नका लागि उहाँले सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । राजस्वको लक्ष्य भेटाउनका लागि सक्रिय रुपमा लाग्न आग्रह गर्दै उहाँले अवैध रुपमा हुने चोरी, पैठारी तथा तस्करीको नियन्त्रणमा कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।सुरक्षा निकाय र भन्सारका कर्मचारीसँग सेटिङ् मिलाएर सीमा नाकाबाट तस्करहरुले तस्करी गर्न थालेपछि राजस्व चुहावट हुने गरेको गुनासोपछि गृहमन्त्री लामिछानेको ध्यानाकर्षण भएको बताइएको छ ।
छलफलमा पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल, बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुंगेल, बाराका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्का, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, उद्योगी व्यवसायी, भन्सारका कर्मचारी लगायतका सुरक्षा निकाय एवम् सरोकारवालाको उपस्थिति रहेको छ ।
















