वीरगञ्ज,कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले आइतवार पर्साका दुई वटा अदालतको स्थलगत अवलोकन गर्नुभएको छ ।गृह जिल्ला आइपुग्नुभएका कानुन मन्त्री चौरसियाले जिल्ला अदालत वीरगञ्ज र उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जको स्थलगत अवलोकन गर्नुभएको हो । अदालतमा भौतिक संरचना र कर्मचारीहरूको अभावसहितका समस्या रहेको गुनासो आएपछि कानुनमन्त्री चौरसियाले आइतवार बिहान दुईवटै अदालतको स्थलगत अवलोकन तथा निरीक्षण गर्नुभएको थियो ।
निरीक्षणका क्रममा जिल्ला अदालत र अस्थायी इजलास वीरगञ्जका प्रमुख न्यायाधीशद्वयले अदालतको भौतिक संरचना बेहाल अवस्थामा रहेको ब्रिफिङ गर्नुभएको थियो ।
जिल्ला अदालत पर्साका न्यायाधीश दीपक खनालले मन्त्री चौरसियालाई पर्सा जिल्ला अदालतमा भौतिक संरचना एकदम जीर्ण रहेको ब्रिफिङ गर्दै सबै संरचनाको स्थलगत अवलोकन समेत गराउनुभएको थियो ।
यसैगरी अस्थायी इजलास वीरगञ्जका प्रमुख न्यायाधीश डा. रत्नबहादुर बागचन्दले पनि अस्थायी इजलास वीरगञ्जमा पनि भौतिक संरचनाको अभावसँगै एकदम न्यून सङ्ख्यामा कर्मचारी रहेको जानकारी गराउनुभएको थियो । उहाँले कर्मचारीका कारण सोचे अनुरूपको कार्य सम्पादन गर्न नसकिएको बताउदै मन्त्री चौरसियासंग आवश्यक कर्मचारी थपिदिन माग गर्नुभएको थियो ।
निरीक्षणका क्रममा न्यायाधीश बागचन्दले मन्त्री चौरसियालाई कानुन संशोधनमार्फत अस्थायी इजलासलाई स्थायी बनाउने कार्यमा भूमिका निर्वाह गर्न पनि आग्रह गर्नुभएको थियो ।अदालतको निरीक्षण गर्दै मन्त्री चौरसियाले जिल्ला अदालत र उच्च अदालतमा धेरै समस्या रहेको पाइएको बताउनुभएको छ । ‘जिल्ला अदालत र अस्थायी उच्च अदालत वीरगञ्जमा भवन, कर्मचारीसहितको समस्या रहेको छ, यी समस्याहरू गम्भीर छन् । म यो समस्याप्रति संवेदनशील छु । त्यसकारण सरकारको तर्फबाट हुने सबै काम यी दुई वटै अदालतका लागि गर्नेछु । कर्मचारीहरूको अभावको समस्यालाई चाँडै सम्बोधन हुने गरी पहल गर्नेछु ।’ उहाँले भन्नुभएको छ ।



















