भन्न त हरेक राजनीतिक दलहरुले लोकतन्त्र र आन्तरिक प्रजातन्त्रको कुरा जोडतोडले उठाएको देखिन्छ तर व्यवहारमा भने फेरि आफै कसरी शक्तिमा रहने भन्नेमा दलहरुकै शीर्ष नेताहरुको ध्यान बढी जान्छ ।प्रायः कम्युनिष्टहरुको सवालमा यो नियम बढी लागू हुन्छ । जनवादी केन्द्रीयताको नाउँमा जवरजस्ती टीका लगाएर आफ्नो मान्छेलाई पदमा लैजाने काम कम्युनिष्टहरुबाट भइरहेको देखिन्छ । फरक यत्ति हो कि, कसैमा यो प्रवृत्ति कम छ त कसैमा बढी ।

नेकपा एमालेले पनि आन्तरिक लोकतन्त्रको कुरा उठाउने गर्दछ तर एमाले पनि यो विषयमा स्वच्छ भने छैन । यद्यपि दशौं महाधिवेशन गरेर केपी ओली अध्यक्ष भएपनि उहाँको समेत कही कतै आलोचना भइरहेकै छ । शीर्ष तहमा जे भएपनि स्थानीय तहमा भने जवरजस्ती गर्न नहुने हो तर बिगतमा यस्ता अभ्यास भएकै थिए र यो अझैपनि जारी नै छ । तर, बारामा यस पटक फरक अभ्यास देखिएको छ । नेकपा एमाले बारामा निर्वाचन प्रक्रिया मार्फत नेतृत्व चयन भएको छ ।
एमालेको आन्तरिक कुरा भएपनि निर्वाचनबाट नेतृत्व चयन हुने कुरा महत्वपूर्ण हो ।

जहाँ मतदान हुन्छ अनि त्यहाँबाट नेतृत्व चयन हुुन्छ भने त्यो असली लोकतन्त्र हो । यसको सिको अन्य राजनीतिक दलहरुले पनि गर्न आवश्यक छ ।सहमतिको नाउँमा पदको बाँडफाँड गर्ने कुरा राम्रो होइन । एमाले बाराको अधिवेशनमा यो अभ्यास भएपनि अन्ततः चुनाव भयो र नयाँ नेतृत्व आयो । अब यो नेतृत्वले आफ्नो पार्टी त बलियो बनाउला नै साथमा जिल्लाको जिम्मेवार दल भएका नाताले जिल्लाको समग्र क्षेत्रमा पनि उसले लिने नीति महत्वपूर्ण हुने आश भने गर्न सकिन्छ ।

Leave a Reply