मनहर्वा,जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ बडहर्वामा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाले एकदिने वित्तीय साक्षरता तथा अन्तर समुह सुदृढीकरण तालिम सम्पन्न गरेको छ ।
सोमवार कलैया उपमहानगरपालिका वडा नम्बर २ दोहरीस्थित अमर माध्यमिक विद्यालयमा तालिमको आयोजना गरिएको संस्थाले जनाएको हो ।
संस्थामा आवद्ध ४० जना महिलाहरु सहभागी रहेको तालिममा साना किसान कृषि सहकारी संस्था लिमिटेड इनर्वासिराका मुख्य प्रबन्धक झपेन्द्रराज बराल, आयोजक संस्थाकी अध्यक्ष नयनकला खड्का र मुख्य प्रबन्धक पुष्पराज खतिवडाले सहजीकरण गर्नुभएको थियो ।सहभागी सदस्यहरुलाई वित्तीय साक्षरताको महत्व र आवश्यकता, आम्दानी वृद्धिका उपाय, खर्च न्यूनीकरण, कर्जा सदुपयोगिताका साथै दिर्घकालिन योजनाका साथ गरिने बचत लगायतका विषयहरुमा सहजीकरण गरिएको संस्था अध्यक्ष खड्काले जानकारी दिनुभयो । तालिममा सहभागी प्रमिला देवी यादवले तालिम निकै उपलब्धीमुलक भएको बताउनुभयो । तालिममा खर्च कम गर्ने र आम्दानी वृद्धिका उपायहरु बताइएले तालिम राम्रो लगेको उहाँले बताउनुभयो ।साना किसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालयको आर्थिक सहयोगमा भएको तालिमको संयोजन आयोजक सहकारी मनहर्वाको सेवा केन्द्र कलैयाका प्रमुख जगदिप कोइरालाले गर्नुभएको थियो ।

















