राजकुमार यादव
मौलापुर,रौतहटको फतुवा विजयपुर नगरपालिकका प्रमुख प्रशासकीय अधिकृत वकिल पालले सोमवार पदभार ग्रहण गर्नुभएको छ । अधिकृत पालले नयाँ हाकिमको रुपमा कार्यालयको जिम्मेवारी सम्हाल्नुभएको हो ।पाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले फतुवा विजयपुर नगरपालिकामा खटाएको हो ।
उहाँलाई कार्यवाहक नगर प्रमुख अम्बेया खातुन लगायत कार्यालयका कर्मचारीहरुले स्वागत गरेका थिए । तर अधिकृत पालको पदभार ग्रहण कार्यक्रममा नगरपालिकाका ११ जनामध्ये कुनै एकजना वडा अध्यक्षको पनि सहभागिता थिएन । उक्त पालिकामा सबै वडा अध्यक्ष असन्तुष्ट रहेकाछन । असन्तुष्ट वडा अध्यक्षहरुले सो पालिकामा पाललाई हाजिर हुन नदिने बताएका थिए । पालले यसअघि बाराको स्वर्ण गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्नभएको थियो । नगरभित्रका शिक्षक र कर्मचारी लगायत ३५० ले लामो समयदेखि तलब पाउन सकेका छैनन् नगरका हजारौँ वृद्ध, वृद्धा, एकल महिला लगायतले पनि सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन ।
पालिकामा आन्तरिक विवादका कारण १० महिनादेखि तलव नपाएका कर्मचारीले पछि नगरपालिका र वडा कार्यालयका कामकाज ठप्प गरी आन्दोलन गर्दैआएका छन । कर्मचारीहरुले गत बुधवार प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापन पत्र र कार्यालयको साचोसमेत बुझाएर आन्दोलन गर्दैआएका हुन ।पालिकामा लगाइएको ताला खोलेर कार्यालयको काम सुचारु गर्नका लागि प्रमुख जिल्ला अधिकारी रेग्मीले सोमवार कार्यवाहक मेयर खातुनलाई जिप्रका कार्यालय गौरमा बोलाएर कर्मचारीले बुझाएको साचो हस्तान्तरण गर्नुभएको छ ।
नयाँ हाकिमको रुपमा सोमवार हाजिर हुनुभएका प्रमुख प्रशासकीय अधिकृत पालले कर्मचारी र शिक्षकहरुको तलव चाडै खुवाउने प्रतिबद्धता जनाएपछि प्रजिअ रेग्मीले मेयर खातुनलाई पालिकाको साचो बुझाउनुभएको हो ।कार्यालयमा नयाँ हाकिमको हाजिरीपछि अब फतुवा विजयपुर नगरपालिकामा लगाइएको तालाबन्दी खुल्ने र कार्यालयको सबै काम सुचारु हुने बताइएको छ ।



















