२०४६ सालपिछ नेपालको राजनीतिमा लगभग काँग्रेसले एकछत्र राज गर्दै आइरहेको छ ।गणतन्त्र स्थापनापछि पनि काँग्रेसको सत्तारोहणको हिसाव गर्ने हो भने थोरै समय मात्रै प्रतिपक्षमा बसेको छ । अहिले पनि भर्खरै काँग्रेस प्रतिपक्षमा पुगेको छ तर काँग्रसलाई प्रतिपक्षमा बस्नुपर्दा औडाहा भएको आभास नेताहरुले नै दिएका छन् ।
मुख्यतया नयाँ दलप्रति काँग्रेसका नयाँ पुस्ता बढी आक्रामक देखिएको छ । यसमा दुईवटा कुरा लुकेको स्वतः स्पष्ट हुन्छ । एक त राष्ट्रिय स्वतन्त्र पार्टीले राम्रो काम गरेको खण्डमा आफ्नो पालो नआउने भय उनीहरुमा छ भने अर्को कतै काँग्रेसले गरेको भ्रष्टचारको फाइल त राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती एवंम वर्तमान सरकारका गृहमन्त्री रवि लामिछानेले खोल्ने त होइन भन्ने देखिन्छ ।
नत्र अहिले भर्खर सरकारमा गएको रास्वपासंग काँग्रेस भस्कनु पर्ने अर्को कुनै कारण नै छैन । केही समय उसलाई पनि काम गर्न दिनु पर्दछ । काम गर्न सकेन भने विरोध गर्नुपर्छ र त्यसको अन्तिम हिसावकिताव जनताले नै गर्नेछन् । तर दुराग्रही भावना बोकेर हिसावकिताव गर्ने अधिकार चैं काँग्रेसलाई छैन भन्दा पनि फरक नपर्ला । जनताबाट अनुमोदन भएको पार्टीका नाताले ऊ सरकारमा गएर केही गर्छु भन्ने सोच राखेको छ भने राम्रा काँग्रेसीहरुले सहयाग गर्नुपर्दछ । त्यसो त जसले राम्रो गर्छ उसको पक्षमा त जनता हुन्छन् नै ।
तर, सरकारमा जानासाथ एकसाथ विरोध गरिरहनुको पछाडि स्वार्थ चैं छ । सत्तामा संधै काँग्रेस मात्रै बसोस् भन्ने जनताको चाहना पनि होइन । काँग्रेस, एमाले र माओवादीलाई त जनताले अवसर दिएकै हुन् तर उनीहरुले जनताको मतको कहिलै पनि सम्मान गर्न सकेनन । कांग्रेश अहिलेको संसदको मुख्य प्रतिपक्षी दल हो र उसले सत्ता पक्षबाट भएको जनविरोधी र गैह्कानुनी कार्यको विरोध गर्नु पनि पर्छ । तर यसरी हतास मनस्थितिमा राजनीतिक स्वार्थ बोकेर गरिएको विरोध उसैका लागि घातक हुनेछ ।














