नेपाली राजनीतिमा सबै बद्मास र फाटाहाहरु मात्रै पनि छैनन् । केही राजनीतिक ब्यक्तिहरु इमान्दार पनि छन् र उनीहरुको काम सम्झना योग्य पनि छ । सोमवार बिहान दश बजे सबै लगभग कार्यालयमा गएको भएपनि सरकारले पूर्वसभामुख दमननाथ ढुंगानाको शोकमा सार्वजनिक बिदाको घोषणा गरेको थियो र यसले एउटा अलमल पारिदिएको भएपनि ढु्ंगानालाई सम्झनु भने ठीक हो । उहाँको सम्झनामा शोक कसरी मनाउने र बिदा दिने विषयमा सरकार कसरी चुक्यो त्यसको फरक समीक्षा होला तर दमननाथलाई सम्झिएर अन्याय भएको छैन ।

काँग्रेसको राजनीतिमा रहेर पनि ढुंगानाले निष्पक्ष र तटस्थ सभामुखको भूमिका निर्वाह गर्नुभएको थियो । बरु त्यसपछिका सभामुखहरुको भूमिकाका विषयमा बारम्वार प्रश्न उठेको छ र उठ्ने कार्य पनि गरिरहेका छन् । यो भनेको उनीहरु निष्पक्ष हुन पनि सकेनन् भन्ने पनि हो । उनीहरुले दमननाथ ढुंगानाबाट केही सिक्न पनि जरुरी छ । आइतवार देहत्याग गर्नु भएका ढुंगानाको सोमवार राजकीय सम्मानका साथ पशुपती आर्यघाटमा अन्तेष्टी पनि गरिएको छ ।

विशेषगरी नेपालमा माओवादीले संचालन गरेको सशस्त्र संघर्षलाई व्यवस्थापन पर्ने सवालमा अथवा शान्ति स्थापनाका लागि ढुंगानाको भूमिका महत्वपूर्ण छ । प्रचण्डसहित केहीका सनकका भरमा चलेको यो युद्धमा धेरै मानवीय र भौतिक क्षति भयो । यदि ढुंगानाले बेलैमा शान्तिका लागि प्रयास नगरेको भए अझै धेरै मानवीय र भौतिक क्षति हुने थियो ।काँग्रेसमा नै कतिपय नेता देशमा युद्ध चाहन्थे,मान्छे मार्न चाहन्थे तर ढुंगाना जस्ता नेताका कारण शान्ति स्थापनामा सहज पनि भयो । दमननाथ ढुंगाना नेपाली समाजले संधै संझन पर्ने नेता हुनुहुन्छ, सम्झन लायक काम पनि ढुंगानाबाट भएकै छ ।यस्ता व्यक्तिप्रति भावपूर्ण श्रद्धासुमन ।

Leave a Reply