कुनै पनि देशको जनसंख्या कति छ भन्ने कुरा नागकिरताको प्रमाणपत्रबाट पनि आधार लिने गरिन्छ । त्यसो त देशको विभिन्न योजनाहरु बनाउदा पनि नागरिकतालाई आधार मान्ने गरिन्छ । नागरिकता भनेको देशको सम्पत्ति हो । कुनै पनि व्यक्तिका लागि नागकिरता जति महत्वपूर्ण छ, देशका लागि पनि नागरिकता लिएका व्यक्तिहरु महत्वपूर्ण हुने गर्दछन् । नेपाली नागरिकता लिएर त्यो व्यक्ति नेपाली नागरिक भएपछि उसको संरक्षण गर्ने दायित्व नेपाल सरकारको हुन्छ ।

तर नेपालको सवालमा भने नागरिकता र नागरिकताधारी नेपालीहरुको महत्व निकै कम भएको पाइन्छ । नागकिरतालाई कौडीको भाऊमा बिक्री गर्ने सोच र जथाभावी नागकिरता वितरण गर्नुपर्ने सोचका कारण नेपाली नागरिकताको महत्व घट्दैछ । खासगरी तराई मधेशको क्षेत्रमा जथाभावी नागरिकता कुनै समयमा वितरण गरिएकै हो ।
खासगरी छिमेकी देश नजिक भएकाले भारतीयहरुले नेपाली नागरिकता लिइरहेका छन् । उनीहरु नेपालमा कानुन अनुसार बसोवास गरेर नियम अनुसार नागरिकता लिएको खण्डमा त आपत्ति भएन तर शासकहरु नै बिक्री हुँदा भने नेपाली नागरिकता सामान्य विषय बनेको छ । जब कि नागरिकता भनेको सामान्य कुरा हुदै होइन । बिश्वमा सहज रुपमा नागकिरता नेपालमा मात्रै पाइन्छ कि भन्ने कुराको संकेत समेत शासक वर्गले दिइरहेका छन् ।
















