रौतहट,नदी नियन्त्रण गर्न बनाइएको बाँध अतिक्रमण गरी बसोबास गरेपछि रौतहटको चन्द्रपुरका बासिन्दा बाँध फुट्ेर बस्ती डुब्नसक्ने त्रासमा परेका छन ।जिल्लाको चन्द्रपुरको चाँदी नदी नियन्त्रण गर्न बनाइएको बाँध र जिल्ला दक्षिणी भेगमा सिँचाइ सुविधा उपलब्ध गराउन बनाइएको पूर्वपश्चिम मुख्य नहरको ड्याममा अनधिकृत रूपमा बस्ती बसेपछि ड्याम कमजोर भएर फुट्ने र नजिकैको बस्ती डुब्न सक्ने डरले स्थानीय त्रसित बनेका हुन ।

चाँदी नदीको कटान नियन्त्रण गर्न चन्द्रपुर नगरपालिका– ५ मा निर्मित बाँध अतिक्रमण गरी सुकुम्बासीको नाममा दर्जनौ घरटहरा बनाएर बसोबास गर्दैआएका छन । अतिक्रमणले बाँध कमजोर भएर ठुलो बाढी आउँदा फुट्न सक्ने सम्भावना बढेको वडाध्यक्ष नीलहरि कोइरालाले बताउनुभयो । उहाँका अनुसार बाँध फुट्यो भने नजिकैको बस्ती डुब्ने खतरा छ ।
२०५० सालमा आएको चाँदी नदीको बाढीले क्षति पु¥याएको स्थानमा बनाइएको बाँधमा पछिल्लो समय आफूलाई सुकुम्वासी बताउने केही मानिसले घरटहरा बनाई बसोबास गरेका हुन् । बाँधमा डेढ दर्जन घरटहरा खडा छन् । वडा कार्यालयले सो स्थानबाट हटाउने प्रयास गर्दा उनीहरू प्रतिकारमा उत्रेपछि स्थानीय प्रशासनलाई पत्राचार गरेको वडाध्यक्ष कोइराला बताउनुभयो ।
यता स्थानीय सरकारले बसोबासको व्यवस्था अन्यत्र मिलाएको खण्डमा बाँधबाट हट्ने आफूहरु तयार रहेको उनीहरुको भनाई छ । यस्तै पूर्व–पश्चिम नहरको ड्याममा पनि अनधिकृतरुपमा बस्ती बस्ने क्रम रोकिएको छैन । चाँदी नदीको पुलदेखि दक्षिण तर्फ रहेको नहरको ड्यामबाट चन्द्रपुर– ६ बेल्डी क्षेत्रसम्म बाक्लो बस्ती बसेको छ । अतिक्रमणले नहर नजिक रहेको खेतबारीमा आवतजावत गर्न, कृषि औजार तथा कृषि यन्त्र लैजान र ल्याउन किसानलाई ठुलो समस्या परेको बेल्डी खेत भएका किसान कालु गौतमले गुनासो गर्नुभयो ।

बागमती नदीमा पानी थप गर्ने उद्देश्यले राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन आयोजना कार्यान्वयनको प्रक्रियामा अघि बढेकोले नहर अतिक्रमण गरी बनाइएका संरचना हटाउन पनि प्रक्रिया अघि बढेको बागमती सिँचाइ परियोजना कार्यालयका प्रमुख भिलानन्द यादवले जानकारी दिनुभएको छ ।

Leave a Reply