निजगढ,नेपाल खेलकुद क्लब रौतहट निजगढ मेयर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमाप्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा निजगढलाई टाईब्रेकरमा ४—३ गोल अन्तरले पराजित गर्दै नेपाल खेलकुद क्लब रौतहट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।
निर्धारित समयको खेल १—१ गोलको बराबरीमा सकिएपछि खेल टाईब्रेकरमा गएको थियो । खेलको ३० औं मिनेटमा निजगढको कमजोर डिफेन्स लाईनको फाइदा उठाउदै मानबहादुर तामाङको गोलसङ्गै रौतहटले अग्रता लिएको थियो । पहिलो हाफमा अग्रता लिएको रौतहट दोश्रो हाफमा दबाबमा देखिएको थियो ।
रौतहटमाथि निरन्तर गोलको लागि प्रयास गरेको निजगढ ४९ औं मिनेटमा बराबरी गर्न सफल भयो । निजगढको लागि अमिर श्रेष्ठले गोल गर्दै खेललाई बराबरिमा ल्याए । दुवै टिमले थप गोल गर्ने थुप्रै अवशर सदुपयोग गर्न नसक्दा खेल टाईब्रेकरमा गएको थियो । टाईब्रेकरमा निजगढका दुईजना खेलाडी गोल गर्न असफल भए ।
खेलको म्यान अफ द म्याच नेपाल खेलकुद क्लव रौतहटका रोशन पहरी घोषित भए । प्रतियोगिता अन्तर्गत दोश्रो सेमिफाइनलमा बिहीवार बारा एघार र नवजनजागृति युवा क्लब सिमरा बाराबीच प्रतिस्पर्धा हुने छ ।