काठमाण्डौ,प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा र भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न निर्देशन दिनुभएको छ ।उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अहिलेको उडान चाप तथा यात्रु व्यवस्थापनलाई ध्यानमा राखेर दुवै अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न सकिने विकल्प र उपायसहित वातावरण बनाउन निर्देशन दिनुभयो ।

ती दुई विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि चासो देखाएका अन्तर्राष्ट्रिय एयरलाइन्सको उडानसम्बन्धी विषयलाई नियामक निकायले चाँडो टुङ्ग्याए सरकारले तालिकामा राखेर अगाडि बढाउने पनि उहाँले बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले यात्रु सेवा शुल्कमा कर लागेको भए घटाउने, पर्यटन कर नराख्नेलगायत विषयमा सम्बन्धित मन्त्रालय र निकायबाट गर्नुपर्ने भए गर्दै गर्न, मन्त्रिपरिषद्बाट निर्णय गर्नुपर्ने भए मन्त्रिपरिषद्को अबको बैठकमा योजना ल्याउन पनि आग्रह गर्नुभयो ।यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठको संयोजकत्वमा सम्बन्धित सबै मन्त्रालयका सहसचिवहरु रहने गरी गृहकार्य गर्ने जिम्मेवारी दिइएको छ ।



















