कलैया,नेकपा एमाले बारा जिल्ला कमिटीको अधिवेशनअन्तर्गत मंगलवारबाट निर्वाचन प्रक्रिया सुरु भएको छ ।
निर्वाचन कमिटीले मंगलवार साँझ निर्वाचन कार्यक्रम सार्वजनिक गरेपछि चुनावी प्रक्रिया सुरु भएको हो । न

नेतृत्व चयनको लागि बिहीवार बिहान ८ बजेदेखि दिउसो ३ बजेसम्म कलैयास्थित जानकी सिनेमा हलमा मतदान हुने प्रमुख निर्वाचन अधिकृत महम्मद रफिक मियाँले जानकारी दिनुभएको छ । निर्वाचन कार्य सम्पादन गर्न मियाँ प्रमुख रहेको ५ सदस्यीय निर्वाचन समिति गठन गरिएको छ ।

अधिवेशनले १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव र २ उपसचिवसहित १२५ सदस्यीय जिल्ला कमिटी चयन गर्ने निर्वाचन कमिटीले जनाएको छ । अधिवेशनमा सहमतिमा नेतृत्व चयनकालागि छलफल चलिरहे पनि आकांक्षीको संख्या धेरै देखिएपछि सहमतिको सम्भावना कम हुँदै गएको छ । निर्धारित समयभन्दा ढिला गरी एमालेले मतदाता नामावली प्रकाशन गरेको छ भने बुधबार १२ः३० बजेपश्चात उम्मेदवारको मनोनयन पत्र दर्ता हुने बताइएको छ । निर्वाचन समितिले हिजो निर्वाचन कार्यतालिका पनि प्रकाशन गरेको छ । जसअनुसार बुधवार बिहान १०ः१५ पछि अन्तिम नामावली प्रकाशन गरिने तालिकामा उल्लेख छ । मतदानको समय भने बिहीवार बिहान ८ बजेबाट दिउसो ३ बजे सम्मको लागि तोकिएको छ ।

अध्यक्ष पदमा नेकपा एमाले बाराको निवर्तमान उपाध्यक्ष टिना सुवेदी, निवर्तमान जिल्ला सचिव अध्यानन्द पाण्डे र कोल्हबी नगरपालिकाका पूर्वनगरप्रमुख भरतबहादुर भण्डारीले दाबी गरेका छन् । यसअघि अध्यक्षका दाबेदार भनिएका एमसमिउल्ला भने सचिव पदमा दाबेदारी पेस गर्नुभएको छ । आकांक्षीहरुले दाबी नछोडेपछि यसपटकको निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने अधिवेशन प्रतिनिधिहरुले बताएका छन ।

यसैबीच आकाक्षीहरुले अधिवेशन प्रतिनिधिहरुसंग भेटघाट र मत माग्न सुरु गरिसकेका छन । यसअघिको अधिवेशनमा सर्वसम्मतबाट जिल्ला नेतृत्व चयन गरिएको भएपनि यसपटक भने मतदानबाट नै नेतृत्व चयन हुने देखिएको छ । अध्यक्षसंगै अन्य पदमा एमाले पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, अच्युत मैनाली र ज्वाला साहका समर्थकहरु आकांक्षी देखिएका छन । ठूला नेताहरु पनि आफआफ्नो पक्षका कार्यकर्ताहरुलाई उम्मेदवार बनाउने र जिताउने रणनीतिमा सक्रिय बनेका छन ।

Leave a Reply