कलैया, बारामा अज्ञात व्यक्तिले हानेको गोली लागेर गम्भीर घाईते भएका भारतीय नागरिकको मृत्यु भएको छ ।भारतीय नागरिक ४५ वर्षीय शिवपुजन प्रसाद यादवको मृत्यु भएको हो । उनी भारत बिहार मोतिहारी जिल्ला छोडादानो पिप्रा गाउँ निवासी हुन् ।कलैया बारियारपुर सडकखण्ड अन्तर्गत बाराको महागढीमाई नगरपालिका(२ स्थित भुतही पुल नजिकै चिया नास्ता पसलमा अज्ञात व्यक्तिले चलाएको गोली लागेर उनी गम्भिर घाईते भएका थिए ।नम्बर नखुलेको दुई वटा मोटरसाइकलमा आएका पाँच जनाको समूहका एक जनाले साढे ५ बजेतिर गोली हानेर भागेका थिए ।बाराको परवानीपुर स्थित एलएस न्युरो अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । साँझ गोली लागेपछि पौने ६ बजे अस्पताल पुर्‍याइएको थियो । तर सवा ६ बजे अस्पतालले उनलाई मृत घोषित गरिदियो ।‘भारतीय नागरिक शिवपुजनको छातीमा गोली लागेको रहेछ, अस्पतालले मृत्यु भएको घोषणा गरिसक्यो ।’ उनले भने ‘चिया नास्ता खान पसलमा सँगै बसेका दुई जनालाई नियन्त्रणमा लिएका छौं । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’गोली हान्ने व्यक्तिहरु फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।बरियारपुरमा आफन्तलाई भेटेर फर्केपछि नास्ता गर्ने क्रममा अज्ञात समूहले गोली हानेको मृतकका आफन्त रविन्द्र प्रसाद यादवले बताए ।मृतक यादव भारतको मोस्ट वान्टेड सूचीमा रहेका थिए भने भारतका विभिन्न थानामा ७ वटा जघन्य मुद्दा दर्ता भएको थियो ।उनी बिहीबार मात्र भागेर नेपाल आएर आफन्तकोमा बसेका प्रहरी स्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here