बारियारपुर– जल उत्पन्न प्रकोप नियन्त्रण तथा सिँचाइ डिभिजन कार्यालय बाराका सब–इन्जिनियरसहित दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८० हजार घुस रकमसहित पक्राउ गरेको छ । जल उत्पन्न प्रकोप नियन्त्रण तथा सिँचाइ डिभिजन कार्यालय बाराका सब इन्जिनियर गजेन्द्रप्रसाद जैसवाल र उनका सहयोगी चन्दन जैसवाललाई ८० हजार घुससहित आयोगको हेटौडा कार्यालयको टोलीले शनिबार साँझ पक्राउ गरेको हो ।
सब ईन्जिनियर जैसवालले नदी तटबन्धको जाली लगाउने कार्य सम्पन्न भएपछि रकम भुक्तानी गरिदिए बापत सेवाग्राहीसँग घुसस्वरूप ८० हजार रुपयाँ लिई भाग्न खोज्दा दुबै जना कलैया नगरपालिका ४ मा रहेको सब इन्जिनियर जैसवालको घरबाट पक्राउ परेको आयोगले जनाएको छ ।
कलैया उपमहानगरपालिका १५ मा रहेको पसाहा खोला नियन्त्रणका लागि जाली बोल्डर गर्न २० लाखको ठेक्कामा सव इन्जिनियर जैसवालले ठेकदारसँग सेयर मागेको र ठेकदारले सो प्रस्ताव अस्विकार गरेपछि ४ लाख रुपैयाँ घुस मागेको र सो पनि दिन नसक्ने जवाफ दिएपछि २० लाखको योजनाको ९ लाख ९५ हजार रुपैयाँ मूल्यांकन गरेर त्यसमा पनि १ लाख रुपैयाँ घुस मागेर सेवाग्राहीलाई दुख दिएको सेवाग्राहीले जनाएका छन ।
अख्तियारले केही दिन अघिदेखि सब इन्जिनीयर जैयसवालमाथि निगरानी बढाएको थियो ।