कृष्ण मोहन साह

सेढवा – विश्वव्यापी महामारीका रुपमा फैलिएको नोबेल कोरोना (कोभिड-१९) रोकथामका लागि सरकारले गरेको लकडाउनको प्रभावका कारण पर्साका ग्रामीण क्षेत्र लगाएत बिशेश गरि ठोरी गाउँपालिकाका किसानहरु प्रत्यक्ष मर्कामा परेका छन् । गएको चैतमा धान रोपाइँ गरेका किसानहरू रासायनिक मलखाद नपाएको कारण मर्कामा परेका हुन् ।

 

 

 

गाउँपालिकाको सिचाइ सुबिधा भएका वडा १,२ ३, ४ र ५ मा अधिकांश किसानले लगाएको धान खेती डिएपी ,युरिया लगायतको रासायनिक मलको अभाव भएपछि प्रभावित बनेको छ । कतिपय किसानले लकडाउन हुनुअगावै मलको जोहो गरेको भएपनि अधिकांश किसान यतिबेला मल नपाएर बाली बिग्रने चिन्तामा डुबेका छन् । अहिले मलखाद छर्ने बेलामा रासायनिक मलको अभाव भएपछि किसानको लगानी नै डुब्ने चिन्तामा परेको ठोरी -३ बुद्धनगरका किसान मुकुन्द ढुङ्गेलले बताए ।

 

 

 

चैतमा रोपेको धान समयमा मलखाद छर्न नपाएर पहेँलो हुन थालेको ढुङ्गेल बताउँछन् । स्थानीय केहि व्यापारीहरुले लकडाउन हुनुअघि भण्डारण गरेको मलखाद सकिएको र तत्काल ल्याउन सक्ने वातावरण नभएको भन्दै कालोबजारी पनि गर्न थालेको स्थानीयले बताएका छन् । गाउँपालिका अन्तर्गत रहेको सहकारी संस्था र वडा कार्यालयको सिफारिसमा ल्याइएको अनुदानको मलमा कृत्रिम अभाव देखाउदै सहकारी सन्चालकहरुले बढी मूल्य थपेर बेच्ने गरेको किसानहरुले गुनासो गरेका छन् ।

 

 

ठोरी गाउँपालिकाको सुवर्णपुर , बिजय बस्ती , ब्रह्ममानगर , ठोरी , जिराभवानीको सेढवा , सुपौली ,माहादेवपटि , पटेर्वा सुगौलीको रङपुर , मानवा , बढनियार क्षेत्रमा रहेका सहकारी संस्थाहरुले किसानहरुलाइ ठग्ने गरेको किसानहरुले बताएका छन् । युरिया मल नौ सय देखि एकहजार सम्म बोराको बेचिरहेका छन् । भने डिएपी मल दुइ हजार चार सय देखि दुइ हजार सात सय सम्म बोराको बेचिरहेको स्थानीय किसानहरुले बताएका छन् ।

 

 

यस क्षेत्रमा करिब सात सय बिगहा भन्दा बढी जग्गामा चैते धान खेती गरिएको छ । यता ईलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक अशोक साहले भने मल खादको कालोबजारीको बिषयमा अहिलेसम्म आफुलाइ कसैले पनि जानकारी नगराएको र आफू अहिले देखि नै ठोरी गाउँपालिकाको सबै सहकारीमा पुगेर निरिक्षण गर्ने र कालोबजारी गरेको पाइएमा कार्वाही गरिने बताए ।

Leave a Reply