कलैया,नेकपा एमाले बाराको सोमवारबाट सुरु हुने ११औं जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पूराभएको जनाइएको छ ।
नेकपा एमाले बाराले आइतवार कलैयास्थित होटल राजकरणमा पत्रकार सम्मेलनमार्फत अधिवेशनको तयारी बारे जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै जिल्ला अध्यक्ष विनोद साहले अधिवेशनको प्रतिनिधि चयन, जनपरिचालन, सुरक्षा प्रवन्ध र स्वंमसेवक परिचालनसहित अन्य तयारी पुरा भएको बताउनुभयो । उहाँले जिल्ला कमिटीले विभिन्न उपसमितिहरु गठन गरेर आवश्यक तयारी गरेको पनि बताउनुभयो । मञ्च व्यवस्थापन, खाद्यान्न र आवास व्यवस्थापनको तयारी पनि अन्तिम चरणमा पुगेको उहाँले जानकारी पनि दिनुुभयो ।

यसैबीच जिल्ला कमिटीको अध्यक्ष पदमा ४ जनाले आकांक्षा देखाएको अध्यक्ष साहले खुलासा गर्नुभएको छ । अध्यक्ष पदमा वर्तमान जिल्ला कमिटी उपाध्यक्ष टिना सुवेदी, सचिव अध्यानन्द पाण्डे, एम समिउल्लाह र कोल्हवी नगरपालिकाका पुर्वनगरप्रमुख भरतबहादुर भण्डारीले आकाक्षा देखाएको साहले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै एमाले पोलिटब्युरो सदस्य अच्युत मैनालीले भने सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन हुने बताउनुभएको छ । ‘आन्तरिक छलफल भइरहेको छ, मैनालीले भन्नुभयो, तर नयाँ नेतृत्व सर्वसम्मत रुपमा नै चयन गरिने छ ।’ उहाँले पनि अधिवेशनको तयारी पूरा भएको र भव्यताका साथ अधिवेशन सफल हुने बताउनुभएको छ । एमाले जिल्ला कमिटी अध्यक्ष साहको अध्यक्षतामा र सहसचिव भुलन चौधरीले संचालन गरेको सो कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य एवंम कृषि तथा पशुपन्छी मन्त्री ज्वाला साह, पोलिटब्युरो सदस्य सुमन प्याकुरेल, केन्द्रीय कमिटी सदस्य बलवीर चौधरी, नेकपा एमाले मधेस प्रदेश अध्यक्ष चन्द्रशवर मण्डललगायतको उपस्थिति रहेको थियो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्धाटन गर्ने सो अधिवेशनको लागि जिल्लाका १६ स्थानीय तह र जनसंगठन र पेसागत संगठनहरूबाट करिव ८ सय प्रतिनिधि सहभागी हुनेछन ।

कलैयास्थित होटल करण राज प्यालेसमा उद्धाटन सत्र र खुल्ला सभापछि जानकी सिनेमा हलमा अधिवेशनको बन्द सत्र हुने छ । अधिवेशनको खुल्ला सत्रमा एमालेले १० हजारभन्दा बढी जनतालाई उतार्ने जनाएको छ ।अधिवेशनमा सहभागी हुने एमाले केन्द्रीय सचिव तथा मधेस प्रदेश इन्चार्ज योगेश भट्टराई आइतवार नै कलैया आइपुगिसक्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here