वैशाख १ गते देशभर ६ सय ३ जना संक्रमित थिए । बारा र पर्सामा लगभग सुन्यकै अवस्था थियो, चैतको अन्तिम सातासम्म । कोभिड—१९ का कारण ३ जनाको मृत्यु भएको थियो । बैशाख २३ गते आइपुग्दा संक्रमितको संख्या दैनिक ९ हजारको हाराहारी बढेको छ । २३ दिनमा झन्डै १५ गुणा संक्रमण र करिब २० गुणा मृत्यु बढेको छ । यसको ग्राफ अति ठाडो गतिमा उकालो चढिरहेको छ संक्रमित बद्दैछन् र अस्पतालका शैयाहरू जटिल खालका संक्रमितले भरिभराउ भएका छन् । नयाँ संक्रमितले अस्पतालमा शैया पाउने अवस्था छैन ।
हरेक दिन स्वाब परीक्षण गराएकामध्ये ८० देखि ९० प्रतिशतभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भइरहेको छ । अब करिबकरिब घरघरमा संक्रमण पुगेको छ । कतिपय घरमा त पूरै परिवार संक्रमित छन । स्वास्थ्यका मापदण्डबारे सचेतना फैलाउने र संक्रमितको उपचार गर्ने डाक्टरलगायत स्वास्थ्यकर्मीसमेत संक्रमण झेलेर सेवामा खटिएका छन् । नेपालमा गत वर्ष कोरोना सचेतना, संक्रमण रोकथाम र उपचारमा तीन तहकै सरकारले प्राथमिकता दिएर काम गरेका थिए । लामो समय निकै कडाइका साथ लकडाउन गरिएको थियो । सीमा नाका बन्द थिए । विदेशबाट आउने सबैलाई अनिवार्य रूपमा स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा राखिन्थ्यो । संक्रमितलाई आइसोलेसन सेन्टरमा राखिन्थ्यो । जटिल खालका संक्रमितका लागि अस्पतालमा अक्सिजनसहितको आइसोलेसन विशेष अस्पतालमा उपचार हुन्थ्यो । संक्रमित थोरै हुन्थे । उपचार गर्दा निको हुने बढी हुन्थे ।
गत चैतपछि कोरोना संक्रमण दर फेरि बढ्न थालेको छ । भारतमा दोस्रो चरणको कोरोना संंक्रमण बढेपछि त्यसको असर नेपालमा पनि परेको छ । दोस्रो चरणको कोरोनाको संक्रमण दर पनि बढ्दो छ । संक्रमित लक्षणसहितका छन् । अस्पतालमा भर्ना भएका संक्रमितमध्ये अधिकांशलाई अक्सिजनको आवश्यकता परेको छ । विगतमा जस्तो संक्रमितको पहिचान भइसकेपछि अनिवार्य रूपमा १० देखि १४ दिन आइसोलेसनमा राख्ने गरिन्थ्यो । अहिले संक्रमितको संख्या बढी भएकाले जटिल स्वास्थ्य समस्या नभएका सबैलाई होम आइसोलेसनमा पठाइन्छ । सरदर ९० प्रतिशत संक्रमित घरमै स्वउपचाररहत छन । त्यसैले पनि थप क्षति हुनबाट जोगाउनका लागि स्वास्थ्य संकटकाल लगाउने कि ?