पुष्पराज खतिवडा

मनहर्वा,कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएका एकहुल हात्तीको बथानले बाराका विभिन्न पालिकाका गाउँमा आतंक मच्याएको छ ।

बाराको कोल्हवी, करैयामाई र जीतपुरसिमराल उपमहानगरपालिकाको रामनगर आसपासको जंगल किनारका गाउँवस्तीहरुमा हात्तीको बथान पसेर दुःख दिएको स्थानीयले बताएका छन् । रातको समयमा गाउँ छिरेर घर भत्काउने, घरमा राखेको अन्नबाली खाने, क्षेति गर्ने गरेपछि स्थानीय तनावमा रहेको कोल्हबीका नविन चौधरीले बताउनुभयो ।

कोल्हबी नगरपालिका वडा नं.३ सानो जुअवाका ९ परिवारको घर भत्काएर घरभित्र रहेको अन्न खाएको स्थानीय अरुण चौधरीले बताउनुभयो । यस्तै जीतपुरसिमराको वडा नं.२१ को अमलेखगजं र वडा नं.१८ बडहर्वाको एउटा घरमा पनि हात्तीले क्षति पुर्याएको बारा प्रहरी प्रवक्ता प्रहरी नयाव उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।

पर्सा राष्ट्रिय निकुन्जका सहायक संरक्षण अधिकृत सुर्य खड्काका अनुसार कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएका हात्तीले जिल्लाका केही ठाउँमा दुःख दिएको बताउनुभयो । उहाँका अनुसार हात्तीको गर्वाधान प्रकृयाको समय भएकाले पोथी हात्तीको खोजीमा निस्किएको ५ वटा हात्ती यतिबेला बाराको वन क्षेत्रको आएका छन ।

‘हात्तीको समुह यतीबेला तितरवितर भएकाले कतै गाउँमा निस्किएर दुःख दिएको हुनसक्छ सहायक संरक्षण अधिकृत खडकाले भन्नुभयो, सोही समुह मध्यको एउटा भाले हात्ती अमलेखगजंमा रहेको र यहाँको हात्तिसारको घरपालुवा राप्तीकतीको संसर्गमा आएको छ ।’

खडकाका अनुसार सो जंगली हात्ती प्रजनन्का लागि गर्वाधान प्रकृयामा रहेकी राप्तीकतीसँगै बसिरहेको र र पोथीसंग शनिवार साँझसम्म १८ पटक सहवास (मिटिङ्ग) भइसकेकाले अरु केही दिन सो हात्ती यतै बस्नसक्ने उहाँले बताउनुभयो ।

सहवासमा रहेको बेला भाले कुनैकुनै बेला हात्ती गाउँतिर छिरेर दुःख दिन सक्ने भएकाले संभावित नोक्सानी हुन नदिन चौविसै घण्टा नेपाली सेनाको टोलीले निगरानी गरिरहेको पनि उहाँले जानकारी दिनुभयो । गाउँ पस्न खोज्दा तर्साएर पुनः जंगल धपाउने कार्य भइरहेको सहायक संरक्षण अधिकृत खड्काले बताउनुभयो ।

जंगली हात्तीले कोल्हवी नगरपालिका अन्तरगत जुअवा, भलुवाईखोर, करैयामाई गाउँपालिकाको ककडी, सखुअवा, नयाँबस्ती र जीतपुरसिमराको रामनगर तथा जैतापुर, कुस्माडी, बडहर्वा, डकाह, पिलुवा र अमलेखगजंमा पनि दुःख दिएको प्रहरीले जनाएको छ ।

Leave a Reply