कलैया,विगत केही समय शान्त देखिएको मधेस प्रदेशको शान्ति सुरक्षामा पछिल्लो समय भने निकै डरलाग्दो अवस्था सिर्जना भएको छ । मधेस प्रदेशमा पछिल्लो चार महिनामा भएका शृङ्खलावद्ध हत्याका घटनाबाट दुई दर्जनभन्दा बढी हत्या भएको छ ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका ११ अमाडरमा गत शनिवार बिहान सिमरा विमानस्थलको विमान सुरक्षा दलका प्रहरी राजकुमार रुम्बाको कारमा गोली प्रहार गरी हत्या भएको अवस्थामा शव फेला परेको थियो ।यता महोत्तरीमा समेत शनिवार बिहाननै पूर्ववडासचिव सुशील झाको डाँका समूहबाट हत्या गरेको थियो । झाको हत्यापछि डाँका समूहले घरमा रहेको सुनको गरगहना र नगद ८० हजार रुपैयाँ समेत लुटेर लगेको थियो ।
तर यी दुवै घटनामा संलग्न कोही पनि हालसम्म पक्राउ पर्न सकेका छैनन् । यता मधेस प्रहरीको तथ्याङ्क अनुसार हरेक महिना कम्तीमा ६ जनाको हत्या भइरहेको छ । त्यस तथ्याङ्कले मधेसका सबै जिल्लामा हत्याका घटनाहरू छ्यापछ्याप्ती भइरहेको देखिन्छ । अपराधिक घटनामा वृद्धि भइरहँदा पनि मधेस प्रहरीले भने नियन्त्रणको लागि ठोस योजनाहरू बनाउन सकेको छैन ।
बारा जिल्लामै गत कात्तिक १० गते गाउँकै एक व्यक्तिले बाराको महागढीमाई नगरपालिकामा नगरपालिकाको वडा नम्बर १ निवासीश्रीनारायण यादवको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीको अनुसन्धानमा भेटिएको थियो । लगत्तै भएको प्रहरी अनुसन्धानले हत्याको जड मात्रै पत्ता लगाएन, हत्याका आरोपित सोथाइ चौधरीलाई नियन्त्रणमा लियो । चौधरी मृतक यादवकै गाउँले रहेको प्रहरी छानबिनमा देखिएको छ । पक्राउ परेका चौधरी अहिले जिल्ला प्रहरी बाराको हिरासतमा छन्, उनीमाथि कर्तव्य ज्यान सम्बन्धीको मुद्दामा कारबाही भइरहेको छ ।
यस्तै पुस ६ गते महोत्तरीको साढामा हतियारधारी डाका समूहको आक्रमणबाट मनराशिसवा नगरपालिका–४ साढामा डकैत समूहको आक्रमणबाट ७० वर्षीय सुशिल झाको मृत्यु भएको थियो । डाका समूह झाको घरमा पसेर सुनको मंगलसुत्र र औठी लुटपाट गर्न खोज्दा झाले प्रतिकार गरेका थिए । प्रतिकार गरेका झालाई घाँटी थिचेर हत्या गरिएको छ । त्यस्तै गत कात्तिक १२ गते बीभत्स हत्या गरिएको अवस्थामा पिपरा गाउँपालिका वडा नम्बर–७ स्थित दनौलीमा २६ वर्षीय मालती मण्डलको शव फेला परेको थियो ।
यस्तै धनुषाको सहिद नगरपालिकास्थित निमुवा टोलकी उनको प्रेमीले घाँटी थिचेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्यो । प्रहरीले मटिहानी नगरपालिका वडा नम्बर–५ का राकेश नायक र उनकी श्रीमती रीनालाई पक्राउ गरी मुद्दा समेत चलाइसकेको छ ।बारा, महोत्तरी र धनुषामा भएका हत्याका घटना त केही उदाहरण मात्रै हुन । पछिल्लो चार महिनामा प्रदेशमा हत्याका घटना शृङ्लाबद्ध भइरहेको सूची छ ।
प्रदेशका ८ वटै जिल्लाबाट दुई नाबालकसहित २७ जनाको हत्या भएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ । प्रदेशका ८ वटै जिल्लामा हत्याका २७ वटा मुद्दा दर्ता भएका छन् । ८ वटै जिल्लामा हत्या सम्बन्धी २७ वटा मुद्दा दर्ता भएका मधेस प्रदेश प्रहरीले जनाएको छ । सोही समयमा प्रहरीले हत्या आरोपित ३४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमध्ये २३ जना पुरुष र ११ जना महिलाको सङ्ख्या छ ।
कर्तव्य ज्यान मुद्दाका विभिन्न ३४ जना आरोपितलाई पक्राउ गर्न प्रहरी टोली सफल भएको मधेस प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो,‘प्रहरी पनि यही समाजको अङ्गहो प्रहरीको पनि केही कमिकमजोरी छ भने प्रहरीले पनि सच्याउनु पर्ने हुन्छ तथा अपराध नियन्त्रण गनुपर्ने प्रहरीको दाइत्व हो तर अपराध भइसकेपछि घटनामा संग्लन भएका दोषिमाथि कारबाही हुनुपर्छ ।’
मधेसको समाजमा ससाना रिसइबीले हत्या गर्ने क्रम बढेको छ । समाजमा कारबाहीको डर घटदै गएकाले अपराध बढेको पाइएको छ । यस्ता घटनाहरू रोक्नका लागि प्रहरीले गृह आवास तथा व्यवस्थापन कार्यक्रम लागू गरी प्रदेशभरि जनचेतना फैलाउने कार्य गर्नुपर्ने जनाइएको छ ।
लाचार छौँ : मुख्यमन्त्री सिंह
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा भइरहेको हत्याहिंसा तथा लुटपाटका घटनाले आफुलाई निकै चिन्तित बनाएको बताउनुभएको छ । मुख्यमन्त्री सिंहले प्रदेश मातहतमा प्रहरी नभएका कारण नेपाल प्रहरीलाई आग्रह गर्ने बाहेक अन्य विकल्प मधेस सरकारसंग नरहेको गुनासो गर्नुभयो ।‘हामीसंग सुरक्षाको कुनै संयन्त्र छैन, मुख्यमन्त्री सिंहले भन्नुभयो, नेपाल प्रहरीलाई आग्रह गर्ने मात्र काम भइरहेको छ ।’ ‘मधेस प्रदेसका सबै नागरिकको सुरक्षाको जिम्मा हामीले लिनुपर्छ तरप्रदेश सरकारसंग प्रहरी नै छैन,’ उहाँले भन्नुभयो, सबै घटनामा मुखदर्शक भएर बस्ने बाहेकको अर्को विकल्प छैन ।’

















