नरेश गुप्ता
बरियारपुर,कलैया उपमहानगरपालिका वडा नम्बर १९ ईनरवामा ५ महिना अगाडि भएको झडपमा ज्यान गुमाएका राधेश्याम पटेलको परिवारलाई मंगलवार एक कार्यक्रमबीच आर्थिक सहयोगबापत १० लाख रुपैयाको चेक हस्तान्तरण गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय बारामा आयोजित कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले मृतक पटेलका पिता राजकुमार पटेललाई सो रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।
रकम हस्तान्तरण कार्यक्रममा बाराका प्रहरी प्रमुख दिलिप सिंह देउवा, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र थापा, प्रतिनिधि सभा सद्स्य रामबाबुकुमार यादव, मधेस प्रदेश सांसद पारस साह, एकीकृत समाजवादी पार्टीका ध्रुब यादव र संचारकर्मीलगायतको उपस्थिति रहेको थियो ।
मृतक पटेलको परिवारलाई राहत दिनु पर्ने माग गर्दै हिन्दू राष्ट्र संघ बाराले विगत लामो समयदेखि कलैयामा आन्दोलन गर्दै आएको थियो । जिल्ला प्रशासन कार्यालय बारा तथा स्थानीय राजनीतिक दलका प्रतिनिधिबीच भएको सहमति बमोजिम जिल्ला प्रशासन कार्यलयले मृतक परिवारमा आर्थिक सहयोग उपलब्ध गराउन गृह मन्त्रालयमा सिफारिस गरेको थियो । सर्वदलीय बैठकमा मृतक पटेलका आफन्तलाई कलैया उपमहानगरपालिकामा रोजगारीको लागि पहल गर्ने, स्वास्थ्य उपचारको खर्चको लागि रकम उपलब्ध गराउन पहल गर्ने लगायतको सहमति भएको थियो ।
जिल्ला प्रशासन कार्यालय बाराले विपद व्यवस्थापन कोषबाट १० लाख क्षतिपूर्ति दिइएको प्रजिअ कटुवालले जानकारी दिनुभयो । कलैया उपमहानगरपालिका वडा नम्बर १९ पचायनपुरमा यस वर्षको छठ पर्वमा मुर्ति विसर्जन गर्ने क्रममा हिन्दू र मुस्लिम समुदायका केही स्थानीयबीच झडप हुँदा घाइते बनेका राधेश्याम पटेलको उपचारको क्रममा वीरगन्जस्थित न्युरो अस्पतालमा निधन भएको थियो ।
मृतक पटेलका आफन्तले जिल्ला प्रहरी कार्यालय बारामा घटनामा संलग्न भएको आरोपमा स्थानीय ८ जनामाथि ज्यान मार्ने उद्योग मुद्दा दर्ता गराएको र आरोपित स्थानीय नुर्जलाह मियाँलाई प्रहरीले पक्राउ गरेको हाल उनी पुर्पक्षको लागि वीरगन्ज कारागारमा छन ।