निजगढ,बारा जिल्लाको निजगढ नगरपालिकाको ग्रामीण क्षेत्रमा कोदो खेतीतर्फ किसानको आकर्षण बढेको छ ।
कोदोको महत्व र फाइदाबारेमा किसानमा चेतना वृद्धि भएसंगै धान र अन्य बालीभन्दा खेती गर्न सजिलो हुने भएकाले पनि निजगढ नगरपालिका वडा नम्बर १०, १२ र १३ का किसानहरु कोदो खेतीप्रति आकषित बनेका हुन । पछिल्लो समय कोदोको माग पनि उच्च रहेको र राम्रो मूल्यमा बिक्री हुने गरेको छ ।
केही वर्षअघिसम्म यहाँ उत्पादित कोदोले उचित बजार नपाउँदा यसको खेतीमा किसानको आकर्षण देखिएको थिएन । तर पछिल्लो समयमा निजगढलगायत सिमरा, जीतपुर र कलैया क्षेत्रका व्यवसायी र सर्वसाधारणले गाउँघरमै पुगेर कोदो खरिद गर्न थालेपछि किसानले कोदो खेतीमा चासो देखाउन थालेका हुन ।निजगढ नगरपालिका कार्यालयले समेत रैथाने बालीको प्रबद्र्धन कार्यक्रम अन्तर्गत किसानलाई निःशुल्क बिउ वितरण गरेपछि यसको खेतीमा किसानहरुको आकर्षण थप बढेको हो । मुख्य रुपमा नेपालको पहाडी क्षेत्रमा हुने कोदो खेतीको लागि चुरे र भिरालो जमिन तथा अनुकुल हावापानी भएकाले पनि यस क्षेत्रमा कोदो बाली उपयुक्त भएको हो ।
कोदो बाली प्रबद्र्धनको लागि स्थानीय सरकारले थप कार्यक्रम अघि बढाउनुपर्ने स्थानीय संचारकर्मी उमेश घलानको भनाई छ । यसअघि यहाँका किसानले मुख्य बालीको रुपमा मकै खेती गर्दैआएका थिए ।

















