वीरगन्ज,पर्साको जगरनाथुपर गाउँपालिकामा पछिल्लो १० दिनको अवधिमा ११ जनाको मृत्यु भएको छ । मृतक ११ मध्ये ४ जनाको कोरोना संक्रमणका कारणले मृत्यु भएको हो । अरु ७ जनाको भने उच्च ज्वरो र श्वासप्रश्वास सम्बन्धि समस्याले मृत्यु भएका कारणले उनीहरुमा पनि कोरोना संक्रमण नै भएको आशंका गरिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
मृत्यु भएका ११ मध्ये ७ जना एउटै टोलका रहेका छन । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रभेन्द्रप्रसाद साहले १० दिनमै ११ जनाको मृत्यु भएको र गाउँमा सयौँको संख्यामा ज्वरोको बिरामी भएपछि स्वास्थ्य कार्यालय पर्सा र नारायणी अस्पताललाई पत्राचार गरी विज्ञसहितको चिकित्सक टोली खटाई आवश्यक सहयोग गर्न गरिदिन आग्रह गरिएको बताउनुभयो । साहका अनुसार जगरनाथपुर गाउँपालिका– ५ चिलझपटीमा टोलमा वैशाख २० देखि २७ गते सम्ममा ७ जनाको मृत्यु भएको हो । जगरनाथपुर– ३ जमुनियाका श्रीकान्त यादवले घरघरमा ज्वरोका बिरामीका कारण अवस्था भयावह बनेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेका अनुसार मंगलबार वीरगन्जबाट स्वास्थ्यकर्मीको टोली जगरनाथपुर गाउँपालिकामा पठाइएको छ । त्यहि एन्टीजेन परीक्षणको ब्यवस्था सहित स्वास्थ्यकर्मी परिचालन गरिएको र गाउँपालिका नै शील गर्न पनि आफूले निर्देशन दिइसकेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो ।