जंगली जनावर र मानिसका बीचमा एकखालको लडाइ तराई मधेसका कतिपय जिल्लामा देखिन्छ । हुन त जनावरसंग मानिसले लड्न सक्ने अवस्था त खासै रहदैन तैपनि मानिस र जनावरका बीचमा भने वर्षौदेखि लडाइ वा द्वन्द हुदै नै आएकोछ र जसका कारण बारा र पर्सामा अधिक मानवीय क्षति हुने गरेको छ ।

सोमवार मात्रै पर्साको ठोरीमा बाघले एक स्थानीयको ज्यान लिएको छ । ठोरीमा जंगली बाघले मानिसको ज्यान लिएको यो पहिलो घटना त होइन तैपनि बाघले मानिसको हत्या गर्नेक्रम बढ्नुु भनेको सोचनीय कुरा हो ।
जंगली जनावरलाई पनि मानिसले मार्न पाउदैन । उसको पनि संरक्षण गर्नु पर्दछ तर यसो भन्दैमा फेरि मानिसको जीवनको नजरअंदाज पनि गर्ने कुरा आउदैन । पहिला त आम नागरिकहरुको जीवन नै प्राथमिकतामा राख्नु पर्दछ अनि जनावरहरुको पनि संरक्षण कसरी गर्न सकिन्छ भनेर नीति बनाउन आवश्यक छ । अहिले देशमा भएका तीन तहका सरकारहरुले यो विषयमा नीति बनाउन आवश्यक देखिन्छ ।

बारा र पर्साको सवालमा यो नीति निर्माण गर्न ढिला पनि भइसकेको छ । जनावरका कारण नै यसरी मानिसहरुले ज्यान गुमाइरहनु विडम्बनाको कुरा हो । स्थानीय सरकार आफैले पनि यो विषयमा कयौं नीतिहरु बनाउन सक्छ भने आफैले गर्न नसकेको खण्डमा प्रदेश र संघीय सरकार गुहार्ने काम पनि उसैको हो । त्यसैले जंगली जनावरका कारण समस्यामा परेका बारा र पर्साका जति पनि स्थानीय तहहरु छन्, उनीहरुले अब साँझा नीति बनाउन ढिला गर्नहुन्न ।

Leave a Reply