जीतपुर, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एन प्याब्सन) जीतपुरसिमरा नगर कमिटीमा हालै निर्वाचित कार्यसमितिका पदाधिकारीहरुको पद तथा गोपनियताको शपथ ग्रहण तथा पदस्थापन मंगलवार एक कार्यक्रमबीच गरिएको छ ।

निर्वाचन संयोजक सुबोधकुमार गुप्ताले एन प्याब्सन नगर कमिटीका नवनिर्वाचित अध्यक्ष अनिल तिवारीसहितका पदाधिकारी र कार्यसमिति सदस्यहरूलाई पदस्थापन तथा शपथ ग्रहण गराउनुभएको हो ।
सोही अवसरमा निर्वाचन संयोजक गुप्ताले नवनिर्वाचित अध्यक्ष तिवारी, पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई निर्वाचित भएको प्रमाणपत्रसमेत वितरण गर्नुभयो । शपथ ग्रहणपछि कार्यक्रममा नवनिर्वाचित अध्यक्ष तिवारीले विद्यालयहरूको संस्थागत विकास र हकहितको लागि आफू सधै क्रियाशील भएर लागिपर्ने बताउनुभयो ।
एन प्याब्सन जीतपुरसिमरा नगर कमिटीको शनिवार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा दिपेन्द्रकुमार साह, सचिव सरोजचन्द्र कार्की, कोषाध्यक्षमा नरेन्द्र तामाङ्ग र सदस्यमा गौतम चौधरी, मधुसुदन चौधरी नर्विरोध निर्वाचित भएका थिए ।
त्यस्तै मंगलवार एन प्याबसन जीतपुरसिमरा नगर कमिटीको प्रथम बैठक सम्पन्न भएको छ । बैठकले एन प्याब्सनको प्रतिनिधिको रुपमा बसन्त ढकाललाई पठाउने निर्णय गरेको अध्यक्ष तिवारीले बताउनुभयो । बैठकले एन प्याब्सन जीतपुरसिमरा नगर कमिटी गठनमा अहम भूमिका खेल्ने एन प्याब्सनका केन्द्रीय कमिटीका पदाधिकारीलाई धन्यवाद ज्ञापन समेत गरेको छ ।



















