निजगढ,निजगढ ९ स्थित समुदायमा आधारित प्रसुति गृह सामुदायिक अस्पतालले आइतवार आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ३८ जनाले रगत दान गरेका छन ।कार्यक्रममा ६ जना महिलासहित ३८ जनाले रक्तदान गरेका हुन । रगत अभावमा देशका विभिन्न अस्पतालहरुमा बिरामीहरुको उपचार प्रभावित बनेको समाचार सार्वजनिक भएपछि अस्पतालले रगत संकलन गर्न खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको स्पताल व्यवस्थापन समितिका अध्यक्ष माधव न्यौपानेले जानकारी दिनुभयो ।

निजगढ रेडक्रस उपशाखा, युथ अफ निजगढ, निजगढ नगर उद्योग बाणिज्य संघ, गौरीशंकर क्याम्पसलगायतका स्थानीय विभिन्न संघ संस्थाको सहयोगमा अस्पताल परिसरमा रक्तदान सम्पन्न भएको हो ।
त्यसैगरी आरम्भ चौतारी लघुबित्त वित्तीय संस्था लिमिटेड निजगढ शाखाको आयोजनामा शुक्रवार निजगढको शहिद चोकमा सम्पन्न भएको रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका छन । लघुबित्त संस्थाले आफ्नो स्थापना दिवसको अवसर पारेर शुक्रवार देशभरिका सबै शाखामार्फत एकैचोटी रक्तदान कार्यक्रमको आयोजना गरेको निजगढ शाखाकी प्रमुख सपना रेग्मीले जानकारी दिनुभयो ।

यसैबीच जिल्ला प्रहरी कार्यालय पर्साले पनि आइतवार बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नेपाल प्रहरी श्रीमती संघको ४०औं वार्षिकोत्सवको अवसरमा पर्सा प्रहरीले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
प्रहरी परिसरमा आयोजित रक्तदान कार्यक्रममा ६९ जना रक्तदान गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ । रक्तदान कार्यक्रममा ४ महिलासहित ६९ जनाले रक्तदान गरेको पर्सा प्रहरी प्रवक्ता दीपक भारतीले बताउनुभयो । श्रीमती संघको ४०औं वार्षिकोत्सवको अवसरमा पर्सा प्रहरीले तीन दिवसीय कार्यक्रम राखेको छ ।शनिवार पहिलो दिन वृक्षारोपण गरी शुरु भएको वार्षिकोत्सवमा आइतवार दोस्रो दिन रक्तदान र अन्तिम दिन सोमवार सरसफाइको कार्यक्रम राखिएको पर्सा प्रहरीले जनाएको छ ।

Leave a Reply