कलैया,कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साहले अहिलेका विद्यार्थीहरू मोबाइलको संसर्गमा बढी रहने भएकोले शिक्षाको गुणस्तर खस्किएको बताउनुभएको छ ।कलैयास्थित श्री ३ चन्द्र माध्यमिक विद्यालय कलैयाद्वरा एसइईमा जिल्लाका सामुदायिक विद्यालयहरूबाट प्रथम तथा सामुदायिक र निजी विद्यालयबाट द्वितीय हुने छात्रछात्राहरूको सम्मान कार्यक्रममा बोल्दै सोमवार उहाँले सो कुरा बताउनुभएको हो । ‘अहिलेका विद्यार्थीहरु मोबाइलमुखी भएकाछन, उहाँले भन्नुभयो, छात्रछात्राहरुले मोबाइलमा अल्झिएर समय खेर नफाली अध्ययन गर्नुपर्छ ।’ उहाँले आफ्नो मिसन अनुसार पढ्दै अगाडि बढेर देशको उच्च ओहदामा पुग्न पनि विद्यार्थीहरूसंग आग्रह गर्नुभयो । नगर प्रमुख साहले आफूहरुको पालमा शिक्षाको अवसर कम भएपनि विद्यार्थीहरुको पढने बानी भने धेरै राम्रो रहेको पनि बताउनुभयो ।
उहाँले जिल्लाका सामुदायिक विद्यालयका छात्रछात्राको मिहिनेतले सबैको सान बढाएको पनि बताउनुभएको छ । विद्यार्थीहरूले मिहिनेत गरेर राम्रो अंक ल्याएर पास हुँदा विद्यालयको मान बढ्नुको साथ साथै अभिभावकले पनि सानले हिडेको महसुस गर्नपाएकोभन्दै विद्यार्थीहरूलाई अझै मिहिनेत गरेर देशको नाम उच्च राख्न आग्रह गर्नुभयो ।
कार्यक्रममा बारा जिल्लामा सामुदायिक विद्यालयहरूमा जिल्ला प्रथम हुने आदर्श कोतवाल गाउँपालिका स्थित रामचरित्र मावि च्युटाहाका छात्र महेशकुमार गुप्तालाई कदर पत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । गुप्ता एसइईमा ९७. ७५ जिपिए ल्याएर उतिर्ण भएका हुन ।त्यसैगरी छात्रातर्फ ८७ जिपिए ल्याएर विद्यालय प्रथम हुने चान्दनी शर्मालाई पनि कदरपत्र र दोसल्लाद्वारा सम्मान गरिएको थियो ।
















