सेढवा, ३१ साउन– पर्सामा निषेधाज्ञा र लकडाउन अवधिमा गिट्टी, बालुवा, ढुङ्गाको तस्करी बढेको छ । पर्सा जिल्लास्थित ग्रामीण क्षेत्रका खोलाहरूबाट प्रहरीकै मिलोमतोमा अवैधरूपमा गिट्टी, बालुवाको उत्खनन गर्नेक्रम वृद्धि भएको छ ।
जिल्लाको भलुवाही खोलाबाट शङ्करसरैया, हरैया, भतौडा, फरदवा, पथरैया, मोडटोल, जगरनाथपुर, सोनवर्षा, निचुटा, फरदवालगायतका स्थानमा गिट्टी, बालुुवा उत्खनन भइरहेको स्थानीयले बताएका छन् ।
उनीहरुकाअनुसार यस क्षेत्रमा अस्थायी प्रहरी चौकी शङ्करसैया, इलाका प्रहरी कार्यालय पटेर्वासुगौली र सशस्त्र प्रहरीको पोष्ट र वन कार्यालयसमेत रहेको भएपनि नदीजन्य पदार्थको तस्करी नरोकिएको हो ।
गत असार १ गतेबाट सरकारले खोला बगरबाट नदीजन्य पदार्थको उत्खननमा रोक लगाएको भएपनि यस क्षेत्र दिनदहाडै निर्वाधरूपमा नदीजन्य पदार्थ तस्करी हुनुमा स्थानीय सुरक्षाकर्मी र वन कर्मचारीकोसमेत मिलिमतो हुन सक्ने आशंका गरेका छन । सरकारी नियमअनुसार असारदेखि भदौंसम्म बर्षायामका ३ महिना खोलबाट नदीजन्य पदार्थ उत्खनन र ओसारपसारसमेत गर्न निषेध छ ।
यसैगरी भलुवाही र जमुनिया खोलाबाट पनि गिट्टी, बालुवा उत्खनन भइरहेको छ । गाँदीको रङ्गपुरटाँडी, धर्मबस्ती, बङ्कुल र सखुवाप्रसौनीको रामभौरी, सिधपुर, अकवनिया क्षेत्रबाट गिट्टी, बालुवा उत्खनन भइरहेको हो । तस्करी भइरहेको उक्त क्षेत्र प्रहरी चौकी रङ्गपुरटाँडी र इलाका प्रहरी कार्यालय एकटाँगा अन्तर्गत पर्छ ।
कोइलाभार सिङ्गयाही, कर्जनिया इलाका भएर तस्करहरूले टायरगाडा, ट्याक्टरबाट अवैधरुपमा गिट्टी, बालुवा ढुवानी गरिरहेका छन । तस्करहरूले आवादी क्षेत्रदेखि टाढा जङ्गलको सीमा क्षेत्रमासमेत प्रवेश गरेर नदी उत्खनन गरिरहेको स्थानीयको भनाइ छ ।
विभिन्न योजना तथा स्थानीय पालिकामार्फत संचालन हुने विकास निर्माणका काम तथा भौतिक पूर्वाधार एवं निजी भवनहरूसमेत निर्माण गर्ने बेला यही भएकोले नदीजन्य वस्तु उत्खनन कार्यले तीव्रता पाएको हुन सक्ने सम्बन्धित क्षेत्रका पालिकाका जनप्रतिनिधिहरूको अनुमान छ ।
सम्बन्धित क्षेत्रका प्रहरी एकाइहरूले भने आफूहरूले रोकथाम तथा नियन्त्रणका लागि सक्दो प्रयास गरिरहेको जिकिर गरेका छन् । लकडाउन पालना गराउनका लागि खट्नुपर्ने, राहत वितरणलगायतका काममा पनि जनशक्ति खट्नुपरेकोले सोही मौका छोपेर तस्करहरूले फाइदा उठाइरहेको हुन सक्ने भन्दै प्रहरीले समयमा सूचना दिन नागरिक पनि सचेत हुनुपर्ने बताएको छ ।