सिमरा,बाराको जीतपुरसिमरा उपमहानगरपालिका– २४ स्थित हरपुर गाउँमा मुस्लिम समुदायले आयोजना गरेको पवित्र धार्मिक कार्यक्रम ‘इज्तिमा’ आज विशेष दुआसहित सम्पन्न भएको छ ।कार्यक्रमको अन्तिम दिन आज समापन कार्यक्रममा देशमा सुख, शान्ति, उन्नति तथा समृद्धिको कामना गर्दै सामूहिक प्रार्थना गरिएको स्थानीयले बताएका छन् । इज्तिमामा सहभागी धार्मिक अगुवाहरूले सामाजिक सद्भाव, सहिष्णुता र आपसी भाइचारालाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए ।
उक्त धार्मिक कार्यक्रममा नेपालका विभिन्न क्षेत्रका साथै छिमेकी मुलुकबाट समेत लाखौं श्रद्धालुहरूको सहभागिता रहेको जनाइएको छ । ठूलो संख्यामा सहभागी भक्तजनको उपस्थितिले हरपुर गाउँ आसपासको क्षेत्र केही दिनयता पूर्ण रूपमा आध्यात्मिक वातावरणले भरिएको थियो ।इज्तिमा इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण धार्मिक जमघटका रूपमा लिइन्छ, जहाँ धर्मप्रचार, आत्मिक शुद्धता तथा सामुहिक प्रार्थनामा विशेष जोड दिइन्छ ।
















