कलैया,संघीय सरकारका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले आउँदो आर्थिक वर्षदेखि निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य द्रुत गतिमा अघि बढ्ने बताउनुभएको छ ।बारा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य समेत रहनुभएका यादवले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने महागढीमाई नगरपालिका १० गन्जभवानीपुरमा क्याम्पस बनाउने उद्देश्यले शुक्रवार आयोजित कुशकुण्डा महायज्ञमा लवकुश प्राण प्रतिष्ठामा सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।

‘विमानस्थल क्षेत्रभित्रका बस्ती र जग्गाको मुआब्जा दिने काम थोरै बाँकी छ । सबै दिएर आउँदो आर्थिक वर्षदेखि निर्माण कार्य द्रुत गतिमा बढ्छ,’ उहाँले भन्नुभयो, ‘आउँदो आर्थिक वर्षमा पर्याप्त बजेट विनियोजन गरेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अगाडि बढ्छ ।’ यसले बाराको पर्यटन विकासमा फाइदा हुने उहाँको भनाई थियो । बारा जिल्लालाई विकसित र खुसहाल बनाउने प्रयासअन्तर्गत आइटी कलेजलगायत पशु तथा मत्स्य विज्ञान कलेज बनाउने प्रक्रिया अघि बढेको पनि उहाँले बताउनुभयो ।
सत्तासीन दलमध्येको एक घटक जनता समाजवादी पार्टीका अध्यक्षसमेत रहेका यादवले मधेस प्रदेशका राजश्री जनक विश्व विद्यालयका ‘सिनेट’ बाट बारा जिल्लामा आईटी कलेज र मधेस कृषि विश्व विद्यालयबाट पशु तथा मत्स्य विज्ञान कलेज स्थापना गर्ने निर्णय भइसकेको जानकारी गराउनुभयो । ‘कलेजको लागि निर्णय भइसके पनि जग्गा प्राप्त भइनसबेकोले ढिलाई भइरहेको छ,’ उहाँले भन्नुभयो ।
















