निजगढ,बीमा कम्पनीले केरा बालीको बीमा गर्न इन्कार गरेपछि आन्दोलित बनेका निजगढका केरा खेती गर्ने किसानहरुले आइतवार जिल्ला प्रशासन कार्यालय बारा कलैयामा ज्ञापनपत्र बुझाएका छन ।बारा जिल्ला केरा तथा फलफूल उत्पादन संघका अध्यक्ष एकबहादुर श्रेष्ठलगायत किसानहरुको टोलीले जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटालाई भेटेर ज्ञापनपत्र बुझाएका हुन ।किसानहरुले कृषि तथा पशुपंक्षी मन्त्रालय, बीमा प्राधिकरण, हिमालयन एभरेष्ट बीमा कम्पनी र मन्त्रालय, बीमा प्राधिकरण र बीमा कम्पनीमा पनि ज्ञापनपत्र बुझाएका छन । अन्य कार्यालयमा भने अनलाईनमार्फत ज्ञापनपत्र बुझाइएको संघका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।ज्ञापनपत्रमा एक साताभित्र केराबालीको बीमा सुरु नभए आन्दोलनमा उत्रिने चेतावनी दिइएको छ । बारा जिल्लामा बाली बीमाको जिम्मा पाएको हिमालयन एभरेष्ट बीमा कम्पनीका कर्मचारीहरुले ‘माथिको आदेश’ भन्दै किसानको केरा खेतीको बीमा नगरी फर्काएपछि निजगढका किसानहरु आन्दोलित बनेको संघका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।किसानहरुलाई बीमाप्रति अभिप्ररित गरेर लाभान्वित पार्ने उद्देश्य सरकारले लागू गरेको बीमा कार्यक्रमको नीति विपरित कम्पनीले बीमा गर्ने कार्य रोकेपछि निजगढका किसानहरुको एक साताअघि भएको भेलाले पहिलो चरणमा सरोकारवाला निकायमा ज्ञापनपत्र बुझाउने र एक साताभित्र पनि माग पुरा नभए सडक आन्दोलनमा उत्रिने निर्णय गरेको थियो ।गत असार २५ गते निजगढमा भएको अभिमुखीकरण कार्यक्रमपछि बीमा कम्पनीले निजगढमा केराको बीमा गर्न सुरु गरेको तर केही किसानको केरा खेतीको मात्रै बीमा गरेर बीमा कार्य रोकेपछि किसानहरु आन्दोलित बनेका हुन । संघले गत शुक्रवार निजगढमा पत्रकार सम्मेलनको आयोजना गरी केराबालीको बीमा सुरु नभए आन्दोलनमा उत्रिने चेतावनी दिएको थियो ।
















