कलैया,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चैत्र १९ गते कलैयामा आउनुहुनेभएको छ ।एमाले बारा जिल्ला कमिटीको ११औं जिल्ला अधिवेशनको उद्धाटन गर्न अध्यक्ष ओली कलैया आउन लाग्नुभएको हो ।मदन–आश्रीत भवन कलैयामा अधिवेशन तयारी संयन्त्रको शनिवार बसेको बैठकले आगामी चैत्र १९ र २० गते कलैयामा जिल्ला अधिवेशन गर्ने मिति तय गरेको हो । बैठकले आगामी चैत्र १४ गते जिल्ला परिषद भेला गर्ने निर्णय पनि गरेको छ ।

जिल्ला अधिवेशनमा पालिकाका प्रतेक वडाबाट सदस्य संख्याको अनुपातमा प्रतिनिधिहरुको चयन गरिने जिल्ला कमिटीका सचिव अध्ययानन्द पाण्डेयले जानकारी दिनुभयो । उहाँका अनुसार २५ जना संगठित सदस्य बराबर महिला र खुल्ला गरी २ जना प्रतिनिधिहरु चयन गरिनेछ र सोभन्दा माथि सदस्य रहेको वडाबाट एक जना युवासहित ३ जना प्रतिनिधिको व्यवस्था गरिएको छ । सदस्य संख्याको अनुपातमा प्रतिनिधिहरुको संख्या पनि सोही अनुसार वृद्धि हुने पाण्ड्येले बताउनुभयो ।

त्यसैगरी जिल्लामा रहेका २४ वटा औद्योगिक प्रतिष्ठानबाट मजदुर प्रतिनिधिहरुको चयन गरिने छ भने अधिवेशनमा पार्टीको विभिन्न विभागबाट १÷१ जना र बारा– काठमाण्डौं सम्पर्क कमिटीबाट १ जना प्रतिनिधि चुनिने छन ।
त्यस्तै दलित, मुस्लिम र जनजातिको लागि भने पालिकास्तरीय क्लष्टरबाट प्रतिनिधि चयन गर्ने व्यवस्था मिलाइएको सचिव पाण्ड्येले जानकारी दिनुभयो । जसअनुसार उपमहानगरपालिकाबाट ५-५, नगरपालिकाबाट ४-४ र गाउँपालिकाबाट ३÷३ जना प्रतिनिधिहरु चयन हुने उहाँले बताइएको छ । त्यसैगरीजिल्ला अधिवेशनमा सहभागी हुने प्रतिनिधि चयनको लागि आगामी १४ गते सबै पालिकामा एकै पटक निर्वाचन हुने उहाँले बताउनुभयो ।

जिल्ला अध्यक्ष विनोद साहको अध्यक्षतामा भएको बैठकमा नेकपा एमाले पोलिटव्युरो सदस्य पुरुषोत्तम पौडेल, अच्युत मैनाली, जिल्ला इन्चार्ज रामदयाल मण्डल, केन्द्रीय सदस्य बलवीर चौधरी, महम्मद समिर, इकवाल मिया, सरस्वती चौधरी, मञ्जु थापा, मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेल, जिल्ला उपाध्यक्ष टिना सुवेदी, सचिव अध्ययानन्द पाण्ड्ये, सहसचिव भुलावन चौधरी, अमृत बजगाई र मखन पासवानलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply