डिजे भनेको समाजमा ध्वनी प्रदुषण गर्ने यन्त्र हो । यसको प्रयोगले वातावरणलाई प्रदुषित बनाउने मात्रै होइन, जनस्वास्थ्यमा पनि हानीकारक असर गर्छ । तर यो तथ्यलाई बुझेर पनि हाम्रो समाजमा कयौं मानिसले बुझ पचाएरै यसको अन्धाधुन्दा प्रयोग गर्दैआएका छन ।

अझै मध्य तराईका जिल्लाहरुमा त यो समस्या झन् बढी छ । त्यसैले पनि यो समस्या समाधानका लागि प्रहरी आक्रामक हुनुपर्ने आवश्यकता छ र बारामा प्रहरीले त्यो भूमिका निर्वाहा गर्न शुरु गरेको पनि छ ।ध्वनी प्रदूषण फैलाएको आरोपमा बारा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको छ । त्यसो त बारा प्रहरीले ध्वनी प्रदूषण विरुद्ध संचालन गरेको अभियान यो नै पहिलो भने होइन । यसअघि पनि प्रहरीले बेलाबेलामा यस्तो अभियान संचालन गर्दै आएको थियो । तर यसको प्रभावकारी कार्यान्वयन नहुँदा यो अभियानले खासै सार्थकता भने पाउन सकेको थिएन । प्रहरीले यसअघि सूचनामार्फत डिजे नबजाउन आग्रह गर्ने गरेको थियो तर धेरैले प्रहरीको आग्रहलाई अटेर गर्दैै ध्वनी प्रदुषण गर्दैआएका थिए ।

गीत संगीत सबैका लागि आवश्यक छ तर यो भन्दैमा चर्को आवाजले अरुलाई समेत असर गर्ने गरी बजाउन भने पाइदैन । अरुलाई असर नगर्ने गरी यस्ता सामग्री बजाउन कसैले पनि रोकावट गर्दैन तर अरुको स्वास्थ्यको ख्याल नै नगरी यसरी ध्वनी प्रदुषण गर्नेमाथि कानुनअनुसार कारबाही हुनुपर्छ । बारा प्रहरीले अहिले शुरु गरेको यो कार्य सहनीय छ र यसलाई कडाइका साथ निरन्तरता दिनु जरुरी छ ।त्यसो त प्रहरीको एकल प्रयासमा मात्रै यो अभियान सफल हुन पनि सक्दैन । यस कार्यमा प्रहरीलाई राजनीतिक दलका कार्यकर्ता, नागरिक समाज र समाजका प्रवुद्ध वर्ग सबैले सहयोग गर्नुपर्छ ।

Leave a Reply