सिकेन्द्र साह
सिम्रौनगढ, १७ साउन– बारा जिल्लाको सिम्रौनगढ नगरपालिकास्थित नेपाल–भारत सिमा क्षेत्रको कवलपुर, झरोखर, गोलागंज र कचोर्वा नाकाहरुबाट भारतीय सामानको दिनहुँ तस्करी हुने गरेको छ । सिमानाकामा प्रहरीको २४ सै घण्टा गर्ने गस्तिका बाबजुद पनि तस्करी मौलाएको हो ।
उक्त क्षेत्रबाट हरेक दिन÷रात नै गुटखा, लत्ताकपडा र मोटर पार्टसको तस्करी हुने गरेको स्थानीय बासिन्दाले बताएका छन । तस्करीका कारण यस क्षेत्रमा थप अपराधिक गतिविधिसमेत बढन थालेको भन्दै स्थानीय चिन्तित बनेका छन ।
स्थानीयकाअनुसार प्रहरीको मिलिमतोमा यस क्षेत्रमा चोरी÷तस्करी र अवैध कारोबार मौलाएको हो ।
दुई दिनअघि सतुवाही नाकाबाट तस्करहरुको एउटा समुहले भित्र्याएको २० ठुलो पोका कपडा मध्ये तस्करहरुको अर्को समुहले सात वटा पोका लुटेर लगेपछि भारतीय र नेपाली तस्करबीचको विवादमा झडपको अवस्था उत्पन्न भएको थियो । सशस्त्र प्रहरी निरीक्षक कवीर मल्लले भारतीय र नेपाली तस्करसंग घुमवा प्रहरीमार्फत रकम असुली गरेर लाइन दिएपछि सिम्रौनगढ क्षेत्रमा तस्करी बढेको बताइएको छ ।
प्रहरीकै संरक्षणमा सिम्रौनगढ बजारमा तस्करीको सामान खुल्लमखुल्ला रुपमा बिक्रीसमेत हुने गरेको बताइएको छ । त्यसैगरी दुई दिनअघि चोरीको सामान स्थानीय पसलमा बेच्दै हिडेका तस्करहरुलाई स्थानीयले पक्राउ गरेर बुझाउदासमेत प्रहरीले कारवाहीमा चासो नदेखएको गुनासो छ ।
यो विषयमा इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक सुरेन्द्र तामाङ्गसंग बुझ्न खोज्दा कुनै चासो देखाएका छैनन । त्यसैगरी सशस्त्र प्रहरी बिओपी गोलागंजले केही दिनअघि बरामद गरेको मोटरसाइकल पार्टस भन्सार कार्यालयमा नबुझाइ प्रहरीले नै बजारमा पुर्याएर बिक्री गरेको आरोपसमेत स्थानीयको छ ।
बरामद सामान बिक्री गरिएको भन्ने गुनासो लिएर पुगेका व्यवसायीसंग प्रहरीको केहीबेर विवादसमेत परेको थियो । सशस्त्र प्रहरीले भारतीय हुण्डी कारोबारीसंग केही दिनअघि बरामद गरेकोे अबैध रकम मध्ये थोरैमात्रै दाखिला गरेर रकम हिनामिना गरेको आरोप पनि स्थानीयको छ ।