कलैया,बाराका सक्रिय पत्रकार एवंम नेपाल पत्रकार महासंघ बाराका पूर्वसचिव जयनारायण यादवको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एकजना पत्रकारसहित पाँच जनामाथि मुद्दा दर्ता गरेको छ ।प्रहरीले पत्रकार उमेश दुबे, कलैया उपमहानगरपालिका– १० मटिअर्वाका राजु चौरसिया भन्ने चन्देश्वर चौरसिया, सन्तोषकुमार साह, गौरी मण्डल र प्रसौनी गाउँपालिका– ४ खुटवाका ज्ञानेन्द्र दुबेमाथि साईबर अपराध सम्बन्धि मुद्दा दर्ता गरेको हो ।पत्रकार दुबेसहित पाँचजनाले विश्वखबर डटकमका सम्पादक एवं नारायणी एफएमका सम्वाददाता समेत रहेका पत्रकार यादवको चरित्र हत्या हुने सामग्री सामाजिक संजाल फेसबुकमा राखेका थिए ।
करिब एक वर्ष पहिला अपहरण शैलीमा चारजना व्यक्तिले पत्रकार यादवलाई नियन्त्रणमा लिई कुटपिट र गालीगलौज गर्दै बनाएको भिडियो पत्रकार दुबे सहितका व्यक्तिले चरित्र हत्या गर्न सामाजिक संजालमा राखेका थिए । भिडियो बनाउने व्यक्तिहरुलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएर माफी मागी आईन्दा गल्ती नदोहोरयाउने शर्तमा छोडेको थियो ।
पत्रकार दुबे जनगुनासो डेली अनलाइन पत्रिकाका प्रबन्ध निर्देशक हुन । दुबे वीरगञ्जको माई टेलिभिजनमा पनि आवद्ध छन । मुद्दा दर्ता भएकाहरु मध्ये पत्रकार दुबेसहित अन्य फरार छन ।पक्राउ परेका चौरसियामाथि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धानअगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी गराउनुभएको छ ।
















