सिमरा,११४औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सिमरा महिला बचत तथा ऋण सहकारी संस्थाले मंगलवार नवजात शिशुका लागि ब्लाङ्केट हस्तान्तरण गरेको छ । प्रत्येक मार्च ८ तारिकका दिन विश्वभर मनाइने अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा संस्थाले जीतपुरसिमरा नगर अस्पताललाई एक सय थान ब्लाङ्केट हस्तान्तरण गरेको हो ।
सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाका पदाधिकारी र कार्यक्रमका अतिथिले एक कार्यक्रमकाबीच अस्पतालका प्रमुख डा. प्रकाश साहलाई ब्लाङ्केट हस्तान्तरण गरेका थिए । संस्थाले हस्तान्तरण गरेको उक्त ब्लाङ्केट नगर अस्पतालमा जन्म लिने नवजात शिशुको अभिभावकलाई वितरण गरिनेछ ।
सोही कार्यक्रममा एक दिन अघि नगर अस्पतालमा जन्मिएको शिशुलाई ब्लाङ्केट ओढाइएको थियो । नवजात शिशुलाई ब्लाङ्केट ओढाउँदै कार्यक्रमकी प्रमुख अतिथि जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ की वडाध्यक्ष चयन गुरुङले सिमरा महिला सहकारीले रचनात्मक र उदाहरणीय काम गरेको बताउनुभयो । उहाँले सिमरा महिला सहकारीको सेवालाई अझ फराकिलो र समाजकेन्द्रीत बनाउन आफूले समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा जीतपुरसिमरा २ का कार्यवाहक वडाध्यक्ष उद्धव गौतम, कांग्रेस नेतृ निरु रायमाझी, माओवादी केन्द्र नेतृ गिता कंडेल, शोभा कार्की, संस्थाकी संस्थापक अध्यक्ष अनिता लम्साल अधिकारी, लेखा संयोजक उर्मिला सापकोटा, अस्पतालका जनस्वास्थ्य अधिकृत अशोक जयसवाल, ईलाका प्रहरी कार्यालय सिमराको महिला तथा बालबालिका सेवा केन्द्रमा कार्यरत पार्वती बोहोरालगायत संस्थाका पदाधिकारी, सदस्यको उपस्थिति रहेको थियो ।संस्थाकी अध्यक्ष मुना खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सचिव गीता शर्माले गर्नुभएको थियो । कार्यक्रममा उपाध्यक्ष भिमादेवी शर्माले स्वागत मन्तब्य राख्नुभएको थियो । २०६३ सालमा स्थापना भएको सिमरा महिला सहकारीले विभिन्न रचनात्मक गतिविधि गर्दै आएको छ ।



















