वीरगञ्ज,
नेतृत्वमा परिवर्तन गर्ने इच्छा शक्ति हुने हो भने कुनै कुरा असम्भव छैन, भन्ने कुराको प्रमाण अहिले वीरगंज महानगरपालिकामा देखिएको छ । हाल देशभर काठमाण्डौ महानगरपालिकाका नगर प्रमुख बालेन साहको चर्चा भई रहेको बेला बीरगंजमा पनि राजेशमान सिंह नेतृत्वमा आएसँगै महानगरपालिकामा परिवर्तनका आधार रेखाहरु कोरिन थालेका छन् । बीरगंज महानगरपालिकाको नयाँ नेतृत्वले सय दिन मनाउदै गर्दा अहिले महानगरमा सरसफाई, पुर्ननिर्माण र सौन्दर्यकरणका काम एक साथ अगाडी बढेका छन् ।

विगतको तुलनामा त्यहि जनशक्तिले नगरको सरसफाईमा तुलनात्मक फडको मारेको छ भने बीरगंजको घण्टाघर देखि माईस्थान सम्मको जिर्ण सडक मर्मत सम्भार गरिनुको साथै मितेरी पुल, रजत जयन्ती चोक, सडकको समेत पुर्ननिर्माणको काम अगाडी बढेको छ । यसैगरी नगर प्रमुख सिंहको नेतृत्वमा अहिले देशका दशशक्ति पिठ मध्ये एक रहेको गहवामाई मन्दिर परिसरको सौन्दर्यकरणको काम अन्तिम चरणमा पुगेको छ ।

छोटो अवधिमा वीरगंजमा पनि नाला अतिक्रमण गरि बनाईएका संरचना हटाएर बीरगंजलाई डुवानबाट बचाउने प्रयासको थालनि गरिएको छ । महानगरपालिकाको नयाँ नेतृत्वले विपन्न र गरिव समुदायका झुपडीहरुमा निःशुल्क विजुली उपलब्ध गराएको छ भने अहिले विपन्न वर्गलाई नै लक्षित गर्दै नगरका प्रत्येक नागरिकको स्वास्थ्य उपचारका लागि घरदैलो घुम्ति शिविर कार्यक्रम शुरु भएको छ ।
नेतृत्वले चाहेमा छोटो अवधिमा पनि धेरै काम गर्न सक्ने हुँदा अहिले बीरगंज महानगरपालिकामा आएको नयाँ नेतृत्वले नगरवासीमा जगाएको आशलाई निरासमा परिणत गर्न नहुने मधेश विश्वविद्यालयका उपकुलपति डा. दिपक शाक्यले बताउनु भयो ।
अहिले बीरगंज महानगरको नेतृत्व समक्ष धेरै चुनौतीहरु रहेको र जनताको अपेक्षा समेत बढी भएको हुँदा त्यसलाई समन्वय गरेर जनपक्षिय कामलाई प्राथमिकताका साथ आफ्नो नेतृत्वले अगाडी बढाई रहेको नगर प्रमुख राजेशमान सिंहले दावी गर्नुभयो ।

Leave a Reply