सिमरा,बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले कडा रोगका १९ जना बिरामीहरुलाई आर्थिक सहयोग गरेको छ ।
उपमहानगरपालिकाले नगरका १९ जना बिरामीहरुलाई रु.८ लाख ५० हजार रुपैया वितरण गरेको हो । उपचार कार्यविधि ०८२ अनुसार उपचार सहायताका लागि परेका निवेदनहरूको प्रक्रिया पूरा गर्दै मापदण्डभित्र परेका बिरामीहरूलाई रोगको प्रकृति र अवस्थाको आधारमा न्यूनतम २५ हजार रुपैयाँदेखि अधिकतम ५० हजार रुपैयाँसम्म आर्थिक सहायता प्रदान गरिएको हो ।
उपमहानगरपालिकामा उपचार सहायताका लागि ६१ जनाबाट निवेदन प्राप्त भएको थियो । कार्यविधिअनुसार परेका निवेदनहरूको छानबिन तथा मूल्याङ्कनपछि १९ जना सहायता प्राप्त गर्न योग्य ठहरिएको उपमहानगरपालिकाको जनस्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख रवि भाष्करले जानकारी दिनुभयो । योग्य ठहरिएका १९ जना कडा खालका रोगीलाई कूल ८ लाख ५० हजार रुपैयाँ बराबरको उपचार सहायता रकम उनीहरूको बैंक खातामा जम्मा गरिएको उपमहानगरपालिकाले जनाएको छ ।कार्यक्रममार्फत कडा रोगबाट पीडित नागरिकहरूको उपचारमा केही राहत पुग्ने विश्वास उपमहानगरपालिकाले लिएको छ ।
उपमहानगरपालिकाका अनुसार जटिल रोग अन्तर्गत कडा किसिमका मुटु रोग, मध्यम किसिमका मुटु रोग, मृगौला रोग (प्रत्यारोपण तथा डायलाइसिस), क्यान्सर, पार्किन्सन्स, अल्जाईमर, स्पाइन इन्जुरी, हेड इन्जुरी, अप्लास्टिक एनिमिया, सिकलसेल, थालासिमिया तथा मस्तिष्कघात (स्ट्रोक) लगायतका रोगहरू पर्दछन्।उपमहानगरपालिकाले उपचार सहायता वितरण प्रक्रिया पारदर्शी, नियमसंगत र निष्पक्ष ढंगले अघि बढाइएको स्पष्ट पार्दै आवश्यक कागजात अपुग वा मापदण्ड नपुगेका निवेदकहरूले आगामी दिनमा प्रक्रिया पूरा गरी पुनः निवेदन दिनसक्ने जानकारी पनि दिएको छ ।


















