वीरगञ्ज,मङ्गलवार रातीदेखि तनावग्रस्त बनेको वीरगञ्ज – ४ स्थित बाल सुधार गृहको अवस्था सामान्य बनेको छ । बालकैदी र स्थानीय प्रहरी तथा प्रशासनबीच वार्ता सफल भएसँगै अवस्था नियन्त्रणमा आएको हो ।विभिन्न माग राख्दै सुधार गृहबाट विरोध गर्दै बाहिर समेत निस्केका बालकैदीहरू अहिलेभित्र प्रवेश गरेका छन् । सुरक्षाका लागि खटाइएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई पनि फिर्ता पठाइएको छ ।मंगलवार राती ८ बजेदेखि सुरु भएको विरोध झन्डै १९ घण्टा पछि नियन्त्रणमा आएको सुधार गृहका प्रमुख टिकाकृष्ण काफ्लेले बताउनुभयो । बालकैदीहरू र पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हिरालाल रेग्मी, पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कोमल विक्रम शाह, वीरगञ्ज महानगरपालिका अन्तर्गतको बाल कल्याण गृहकी प्रमुख सावित्री भण्डारी, पत्रकार र मानव अधिकारकर्मीहरूबीचको वार्ता सफल भएको काफ्ले बताउनुभयो । ‘अहिले अवस्था सामान्य भएको छ,’ उहाँले भन्नुभयोे ।वार्ताका क्रममा बालकैदीहरूले तिन साता पहिला भक्तपुरको सुधार गृहबाट आएका मध्ये केहीलाई अन्यत्र पठाउन, कानुनले उपलब्ध गराएको सम्पूर्ण सुविधाको ग्यारेन्टी गर्न, खानाको मात्रा पर्याप्त र गुणस्तरीय बनाउन, बस्ने कोठाको राम्रो व्यवस्था गर्न, सुरक्षाका लागि खटिएका प्रहरीबाट कुनै किसिमको बल प्रयोग नगर्न, निःशुल्क औषधी उपचारको व्यवस्थापन गर्न, पठनपाठनको व्यवस्थापन गर्न, बिजुली र सफा खानेपानीको व्यवस्थापन गर्नलगायत माग अगाडि सारेको काफ्लेले जानकारी दिनुभयो ।उहाँका अनुसार बालकैदीहरूले उठाएको मागलाई सम्बोधन गर्न पर्साका सिडिओ रेग्मीले पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ । रेग्मीले प्रत्येक महिना सुधार गृहको अनुगमनमा गर्ने पनि जनाउनुभएको छ । ‘सिडिओ साबले प्रत्येक महिनाको २७ गते सुधार गृहको अनुगमनमा गर्ने भन्नुभएको छ । अनुगमनका क्रममा कैदीहरूलाई आफ्नो गुनासो राख्ने उहाँले आग्रह गर्नुभयो ।’ उहाँले भन्नुभयोे ।विरोधका क्रममा झन्डै एक करोड रुपैयाँ बराबरको क्षति भएको काफ्लेको भनाई छ । क्षतिको विस्तृत विवरण नआए पनि झन्डै एक करोड रुपैयाँ बराबरको अनुमानित क्षति भएको उहाँले बताउनुभयो । ‘सुधार गृहभित्रका विभिन्न पर्खाल, ढोका, झ्याल, ग्रिल खाने पानीको ट्याङ्की, चापाकल, भान्साको सामान, बालकैदीहरू सुत्ने खाट, बिछ्यौना लगायतमा क्षति पुगेको छ,’ उहाँले भन्नुभयो, ‘हामी तथ्याङ्क सङ्कलन गरिरहेका छौँ । विस्तृत विवरण नआए पनि अनुमानित रूपमा एक करोडभन्दा बढीको क्षति भएको छ ।’तीन हप्ता अगाडि भक्तपुरको बाल सुधार गृहबाट ल्याइएका १८ जना बालकैदी र यहाँ पहिलेदेखि बस्दै आएकाहरूबिच मङ्गलवार राती करिब ८ बजे भएको झडप पछि विरोध सुरु भएको थियो । झडपले उग्र रूप लिएपछि स्थिति नियन्त्रणलाई नियन्त्रणमा लिन बाक्लो मात्रमा प्रहरी परिचालन समेत गरिएको थियो ।
सुधार गृहमा रहेका बालकैदीबीच झडप हुँदा ११ जना बालकैदी तथा उनीहरूले बाहिर प्रहरीमाथि प्रहार गरेको ढुङ्गामुढाबाट तिन जना प्रहरी गरी कूल १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
घाइते हुनेमा अधिकांश भक्तपुरबाट ल्याइएका बालकैदी रहेको प्रहरीको भनाई छ । घाइतेमध्ये १० जना बालकैदी केही दिन अगाडि भक्तपुरको बाल सुधार गृहबाट ल्याइएका रहेको पर्साका प्रहरी उपरीक्षक (एसपी) कोमल शाहले जानकारी दिनुभयो । घाइतेहरूलाई मंगलवार राती नै नारायणी अस्पतालमा भर्ना गरिएको थियो । अहिले उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर राखिएको एसपी शाहले बताउनुभयो ।एसपी शाहका अनुसार भक्तपुरको बाल सुधार गृहमा भदौ ४ मा जेल फुटाएर विरोध गर्दै निस्किएका मध्ये १८ जना बालकैदीहरूलाई वीरगञ्जको बाल सुधार गृहमा ल्याएर राखिएको थियो । यहाँ पहिलेदेखि १३१ जना बालकैदी थिए । सुधार गृहमा अहिले कूल १४९ जना बालकैदीहरु रहेका गृहका प्रमुख काफ्लेले जानकारी दिनुभयो ।भक्तपुरबाट ल्याएर राखिएका बालकैदीहरूले मङ्गलवार बेलुकी सुधार गृहका नाइकेसँग विवाद गरेर कुटपिट गरेपछि त्यही विषयमा विवाद भई झडप भएको उहाँको भनाई छ । त्यस क्रममा उनीहरूले सुधार गृहभित्र तोडफोड गरेपछि स्थिति नियन्त्रणमा लिन ठूलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । यद्यपि भित्रबाट बालकैदीहरूले ढुङ्गामुढा गरेर प्रहरीलाई अबेर रातिसम्म पनि भित्र प्रवेश गर्न दिएका थिएनन् । मंगलवार राती पनि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन केही सेल अश्रु ग्याँस चलाएको थियो ।बुधवार दिउँसो १ बजेसम्म पनि प्रहरीलाई सुधार गृहभित्र रहेका बालकैदीहरूले प्रवेश गर्न दिएका थिएनन् । सञ्चारकर्मीहरूको पहलमा २ बजेतिर उनीहरू वार्ता गर्न तयार भएका थिए ।गृहका प्रमुख काफ्लेका अनुसार भक्तपुरबाट आएका बालकैदीहरूले यहाँ नबस्ने भन्दै विरोध जनाउँदै आएका थिए । सोही विषयलाई लिएर उनीहरूले मङ्गलवार बेलुका सुधार गृहका नाइकेसँग विवाद गरी कुटपिट गरेपछि स्थित तनावग्रस्त बनेको थियो । काफ्लेलाई पनि बालकैदीहरूले मंगलवार रातीदेखि भित्रै थुनेर राखेका थिए । उनलाई बुधवार बिहान मात्रै प्रहरीले उद्धार गरेको थियो ।

Leave a Reply