निजगढ,जीर्ण बनेर सवारी आवागमनमा समस्या हुदै आएको पूर्वपश्चिम राजमार्गको पथलैया– निजगढ खण्डमा पर्ने बकैया, पसाह र बालगंगा पुलको मर्मत सुरु भएको छ ।
सडक डिभिजन कार्यालय हेटौडामार्फत न्यु टेक्निकल कम्पनी काठमाण्डौंले जीर्ण पुलको मर्मत कार्य थालेको हो । एकसाताअघि सडक कार्यालयसंग पुल मर्मतको लागि संझौता गरेको निर्माण कम्पनीले शुक्रवारबाट मर्मत कार्य सुरु गरेको हो ।
२ महिनाभित्र राजमार्गका ३ वटै पुलको मर्मत कार्य पुरा गर्ने न्यु टेक्निकलका प्रतिनिधि जिवन तिवारीले जानकारी दिनुभयो । तिवारीले निजगढमा रहेको बकैया, पसाहा र बालगंगा पुलको मर्मत कार्य एकैसाथ अघि बढाइएको पनि जानकारी दिनुभयो । कम्पनीले पुलको माथिल्लो भागमा रहेको वयरिङ्ग कोर्स उप्काएर नयाँ रड राखेर ढलान गर्ने जनाएको छ ।
राजमार्गका पुल मर्मत सुरु भएसंगै राजमार्गमा चल्ने सवारी र ढुवानीका साधनहरुलाई डाइर्भशनबाट सुचारु गरिएको छ । पुल जीर्ण भएर सवारी र ढुवानीका साथनहरु पुलमा घण्टौं जाम हुने समस्या देखिएपछि मर्मत गर्न लागिएको सडक डिभिजन कार्यालय हेटौडाले जनाएको छ ।
पुल मर्मतपछि पुलमा देखिएको सवारी जाम हुने समस्या हल हुने जिल्ला ट्राफिक कार्यालय बाराका प्रहरी निरीक्षक विपीन ओझाले जानकारी दिनुभयो ।



















