कृष्ण मोहन साह
सेढवा,पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर १ को चमरी टोलमा आइतवार भएको आगलागीबाट दुई वटा फुसको घर जलेर नष्ट भएका थिए । चमरी टोलमा दिउँसो अन्दाजी १ बजेतिर भएको आगलागीबाट स्थानीय मुन्ना नटको २ वटा फुसको घर जलेर नष्ट भएको हो ।
आगलागीबाट २ वटै घर जलेर नष्ट हुनुका साथै घरभित्र रहेका लत्ताकपडा, गरगहना, अन्नपात, काठका सामान सबै जलेर नष्ट भएको पीडित नटले बताउनुभयो । छोरा बुधनको एक महिनापछि विवाह तय भएको र विवाहको लागि खरिद गरेर राखिएको लत्ता कपडा, चामल, गरगहना, श्रृङ्गारका सामग्री लगायतका सबै सामान जलेर नष्ट भएको उहाँले बताउनुभयो ।प्रहरीका अनुसार विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । वीरगञ्जबाट गएको वारुणयन्त्रको मद्दतमा स्थानीय र प्रहरीले मिलेर आगो निभाएका थिए ।
यसैबीच आगलागीबाट पीडित नट परिवारलाई सोमवार जिराभवानी गाउँपालिकाद्वारा सहयोगमा चामल, दाल, तेल, नुन, आलु, प्याज, मसला, कम्बल, त्रिपाल लगायतका सामान राहत सहयोग स्वरुप हस्तान्तरण गरिएको छ ।जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरी निमित्त प्रमुख प्रसाकीय अधिकृत उमेशकुमार साह, स्वास्थ साखा प्रमुख अजय दास, वडा नम्बर १ का वडा सदस्य शुभनारायण पटेल, समाजसेवी सुरेशप्रसाद कुर्मीलगायतले घरमै पुगेर सो सामानहरु हस्तान्तरण गरेका थिए ।
पीडित नटका छोराको बिहेको लागि किनमेल गरेको सामान र बिहेको निम्तो कार्ड र भाडा बर्तमन खाद्यान्न सामाग्री जलेर नष्ट भएकोले जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीले थप राहत सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको छ । साथै आगलागी पीडित नटले आर्थिक र भौतिक सहयोगको लागि संघ सस्थासंग अपिल समेत गर्नुभएको छ

















