सिमरा,जीतपुरसिमरा उपमहानगरपालिकाका सबै २४ वटै वडा पूर्ण खोप सुनिश्चितता वडा घोषणा भएका छन् । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत चालु वर्ष उपमहानगरका सबै वडाले पूर्ण खोप सुनिश्चितताको मापदण्ड पूरा गरेपछि पूर्ण खोपयुक्त वडा घोषणा गरिएको हो ।उपमहानगरका विभिन्न वडा कार्यालयले बुधबार कार्यक्रमको आयोजना गर्दै पूर्ण खोपयुक्त वडा घोषणा गरेका छन् । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत जन्मदेखि १५ महिनासम्मका सबै बालबालिकाले पाउनुपर्ने सम्पूर्ण खोप प्राप्त गरेको सुनिश्चित भएपछि उक्त वडालाई पूर्ण खोपयुक्त घोषणा गर्ने गरिन्छ ।

उपमहानगरपालिका भित्रका २४ वटै वडामा गरिएको सर्वेक्षणका क्रममा १५ महिनासम्मका बालबालिकाले पाउनेपर्ने सबै खोप प्राप्त गरेको पाइएपछि पूर्ण खोपयुक्त वडा घोषणा गरेको स्वास्थ्य महाशाखा प्रमुख रवि भाष्करले जानकारी दिनुभयो ।भाष्करका अनुसार १५ महिनासम्मका बालबालिकाले सात पटकमा विभिन्न १३ प्रकारका खोप लगाउनुपर्ने हुन्छ । उक्त खोप लगाउन छुटेका बालबालिकाको खोजी गरी बैशाख मसान्तसम्ममा सबै खोपको मात्रा पुर्याउने गरिएको भाष्करले बताउनुभयो ।१५ महिनासम्मका सबै बालबालिकाले खोप पूरा गरेपछि वडास्तरमा घोषणा भएको बताउँदै भाष्करले नगरलाई पनि पूर्ण खोपयुक्त वडा घोषणा गर्ने तयारी भईरहेको जानकारी दिनुभयो । उहाँले आगामी नगरसभामा पूर्ण खोपयुक्त नगर घोषणा गरिने बताउनुभयो ।


















