निजगढ,बाराको निजगढ– १३ क्षेत्रमा स्थानीय सामुदायिक वन समूह र वडा कार्यालयको संयुक्त पहलमा सडकको झाडी सरसफाइ गरिएको छ ।पर्सा राष्ट्रिय निकुञ्जसँग जोडिएको धारापानी सामुदायिक वन उपभोक्ता समूह र शिव शक्तेश्वर सामुदायिक वन समूह तथा निजगढ नगरपालिका वडा नम्बर १३ वडा कार्यालयको संयुक्त पहलमा शुक्रवार बिहान सडक छेउको झाडी सफाइ गरिएको हो ।

कार्यक्रमअन्तर्गत सडकदेखि करिब १० मिटरभित्र रहेका बाक्लो झाडी फाँडेर सफा गरिएको छ । स्थानीयवासीका अनुसार हालैको केही महिनायता सो क्षेत्रमा बाघको गतिविधि तीव्र भएपछि सुरक्षाको लागि सडक दाँयाबाँयाको झाडी सफाइ गरिएको हो ।

मुख्य सडकमा दिनदहाडै बाघ देखापरेपछि गाउँबाट विद्यालय जाने विद्यार्थी र हाटबजार गर्न जाने सर्वसाधारणले असुरक्षित महसुस गर्दैआएका थिए । यही समस्यालाई मध्यनजर गर्दै सुरक्षित वातावरण निर्माणका लागि सरसफाइ अभियान सञ्चालन गरिएको आयोजकको जनाएको छ ।कार्यक्रममा जुनतारा युवा क्लब, मानेचोक युवा क्लब, फ्याफुल्ला युवा क्लब र प्रगतिशील टोल विकास बेसीगाउँ र धारापानी सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरूले संविधान दिवसको अवसरमा स्थानीय समुदायको सहभागिता लिएर गरिएको सरसफाइ कार्यले वन र मानवबीच बढ्दो द्वन्द्वलाई केही हदसम्म कम गर्न सहयोग पुग्ने विश्वास गरेको छ ।

यसैबीच निजगढ वडा नम्बर १३ कै शिव शक्तेश्वर सामुदायिक वन उपभोक्ता समूहले पनि आफ्नो क्षेत्रमा पर्ने मुख्य सडक छेउमा सरसफाइ गरेको छ । वन समूहले सडक छेउको बाक्ला झाडी फाँडेर सडकलाई खुला र सुरक्षित बनाएका हुन ।सरसफाइ अभियानमा स्थानीयवासी, विद्यार्थी, वडा अध्यक्ष, सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो ।सरसफाइले सो सडक भएर आवतजावत गर्नेहरुलाई राहत मिल्ने बताइएको छ ।

Leave a Reply