काठमाण्डौं,वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । सोमवार अपरान्ह ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको संगीतकार चेतन सापकोटाले जानकारी दिनुभयो ।भजन शिरोमणिको उपाधिबाट समेत प्रसिद्ध ८२ वर्षीय आचार्य ३० वर्षदेखि दूध मात्रै खाएर बाँचिरहेको संगीतकार सापकोटाले बताउनुभएको छ । अचानक अक्सिजन लेभल कम भएपछि छोरा स्वरुपराजले उहाँलाई मेडिसिटी अस्पताल लैजाँदा गर्दा बाटोमै निधन भएको हो । आचार्यको पार्थिव शरीरलाई मंगलवार बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ । राष्ट्रिय सम्मानका साथ उनको बिदाइ गर्ने तयारी छ ।
यस्तै गजलका हस्ति पंकज उदासको फागुन १४ गते सोमबार ७२ वर्षको उमेरमा उनको निधन भएको परिवारले पुष्टि गरेको छ । उहाँको परिवारले सार्वजनिक गरेको वक्तव्यमा भनिएको छ, ‘निकै गह्रौं हृदयले हामी यो खबर सुनाउनुपर्दा दुःखी छौं, पद्मश्रीबाट सम्मानित पंकज उदासको २६ फेब्रुअरीमा दीर्घरोगका कारण निधन भएको छ ।
मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा भारतीय समय अनुसार सोमवार बिहान ११ बजे उहाँको निधन भएको हो । उहाँलाई केही महीनाअघि क्यान्सर भएको पुष्टि भएको थियो । त्यसयता उहाँले कसैसँग भेटघाट गर्नुभएको थिएनन् । १७ मे १९५१ मा जन्मिनुभएका उदासको गायनयात्रा सानै उमेरमा शुरू भएको थियो ।