निजगढ,बाराको तामागढी– सिम्रौनगढ हुलाकी सडक निर्माणको समयमा सरकारले घोषणा गरेको मुआब्जा माग गर्दै पीडितहरुले निजगढस्थित तामागढी सडकमा प्रदर्शन गरेका छन ।सरकारलाई पटक पटक अनुरोध गर्दासमेत कुनै सुनुवाइ नभएको भन्दै पीडितहरुले तामागढी– सिम्रौनगढ सडकको प्रस्थान विन्दु तामागढीमा बिहीवार सडक अवरुद्ध गरेर प्रदर्शन गरेका हुन ।

मुआब्जा संघर्ष समिति बाराको अगुवाइमा भएको विरोध प्रदर्शनमा कोल्हवी नगरपालिका, सिम्रौनगढ नगरपालिका, आदर्श कोतवाल गाउँपालिका र बारागढी गाउँपालिकाका पीडित स्थानीयको सहभागीता रहेको थियो ।प्रदर्शनकारीहरुले पूर्व पश्चिम लोकमार्गसमेत अवरुद्ध गर्न सक्ने आशंकामा तामागढी क्षेत्रमा ठुलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।भारत सरकारको अनुदान सहयोगमा २०७८ चैत १८ गते निर्माण सम्पन्न भएको ३९.७५ किलोमिटर लामो तामागढी– सिम्रौनगढ हुलाकी सडक निर्माणको क्रममा परेका स्थानीयको घर र जग्गाको मुआब्जा दिने सरकारले निर्णय गरेको थियो ।
निर्माण सम्पन्न भएको तीन वर्ष बितिसक्दा समेत सरकारले मुआब्जा नदिएपछि पीडितहरु आन्दोलित भएका हुन् ।

आन्दोलनमास्थानीयले मुआब्जा नपाएपछि बारा क्षेत्र नम्बर १ का संघीय सांसद अच्युत मैनालीले संसदमा पटकपटक कुरा राख्दैआउनुभएको छ । सांसद मैनालीले प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डसंग संसदमा प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा समेत तामागढी–सिम्रौनगढ हुलाकी सडकको मुआब्जाको विषयमा ध्यानाकर्षण गराउनुभएको थियो ।सरकारले चालु आर्थिक वर्षमा मुआब्जा वितरणको काम सुरु गर्ने गरी १० करोड ३० लाख बजेट विनियोजन गरेको छ । तर मुआब्जा वितरणको काम भने सुरु हुन सकेको छैन ।

Leave a Reply