कृष्ण मोहन साह
सेढवा,पर्साको विन्दवासिनी गाउँपालिका– ५ प्रसौनिभाठा गाउँस्थित धुतहा खोलाको किनारबाट सशस्त्र प्रहरी बल, नेपालले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ ।सशस्त्र प्रहरी बल, नेपाल विओपी प्रसौनिभाठाबाट खटिएको टोलीलाई देखेपछि केही व्यक्तिहरू नेपालबाट भारततर्फ बोकेर लैजाँदै गरेको ८ वटा प्लास्टिकको पोका छोडेर फरार भएका थिए । शंकास्पद अवस्थामा फेला परेका ती पोकाहरू खोली जाँच गर्दा जम्मा १ सय २० किलो लागुऔषध गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद गरिएको गाँजा आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको छ ।सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योञ्जनका अनुसार सीमावर्ती क्षेत्रमा लागुऔषध ओसारपसार नियन्त्रणका लागि निगरानी र चेकजाँचलाई अझ कडाइ गरिएको छ । उहाँले यस्ता अवैध गतिविधिविरुद्ध सशस्त्र प्रहरी निरन्तर सक्रिय रहेको पनि बताउनुभयो ।

Leave a Reply